काठमाडौं । गलत गर्ने कर्मचारीको बचाउमा काठमाडौं महानगरपालिकाका वडाअध्यक्षहरू देखिएको भन्दै मेयर बालेन्द्र साह ‘बालेन’ले असन्तुष्टि व्यक्त गरेका छन् ।
आज मंगलबार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले भनेका छन्, ‘कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ । कर्मचारी स्वयमले ‘मैले गलत गरेको हो’ भनेर लिखित रूपमा स्विकारेको पनि थाहा छ । यति हुँदाहुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढाउन रोक्नुको अर्थ हो – वडाध्यक्षज्यूहरूको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल । यसलाई कर्मचारीको मनोबल के हुन्छ, मेयरले एकलौटी गर्न पाइँदैन भन्ने जस्ता प्रश्नले छोप्न खोजिन्छ । साँच्चै भ्रममा हुनुहुन्छ भने निस्कनु होला । चोरभन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ । चोरभन्दा झस्किएर आफ्नो खुट्टा तान्नेहरूप्रति हाम्रो शंका छ ।’
मेयर शाहले गलत कृत्यलाई कारवाही गर्दा भ्रष्ट, कमिसनखोर कर्मचारीहरूको मात्रै मनोबल खस्किने र स्वच्छ कर्मचारीहरूको मनोबल झन् उँचो हुने स्पष्ट पारेका छन् ।
आफ्ना पार्टीका कर्मचारीलाई जे गरे पनि बचाउन जुन हदसम्म पनि जान सक्ने जनप्रतिनिधिहरूले साँच्चै स्थानीय सरकारको मर्म आत्मसाथ गर्न सकेको कसरी मान्ने भनेर उनले प्रश्न गरेका छन् ।
उनले भनेका छन्, ‘जनप्रतिनिधिको आवरणमा कांग्रेस, एमाले र माओवादीका पार्टी प्रतिनिधि रहेको किन नभन्ने ? यस्तो गलत प्रवृतिले बन्छ त काठमाडौं ? जनप्रतिनिधिहरू जनताबाट म्यान्डेट लिएर आउँछन् । कर्मचारीहरू संविधान, ऐन–कानुनको सीमामा बसेर जनप्रतिनिधिहरूलाई सहयोग गर्छन् । यो सम्बन्धलाई विश्वास र कानूनको पालनाले बलियो बनाउँछ, न कि जति भ्रष्ट भए पनि कर्मचारीले फाइल मिलाएर बचाइ दिन्छन्, नेताले ढाकछोप गरिदिन्छन् भन्ने विचलनले’ उनले भनेका छन् – ‘स्वीकारी स्वीकारी गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिंगो पार्टी लाग्छ भने यो भन्दा बिडम्बना अर्को के हुन्छ ? आशा गर्छु, कार्यपालिकामा छलफलका लागि ल्याइएको प्रस्ताव नै देखाएर एकलौटी निर्णय हो भन्दा लाज मान्ने जनप्रतिनिधिहरू देशभर आउन् । गलत गरिहालेछ, आफ्नै पार्टीको पर्यो, छोडिदिनुहोस् भन्ने खालका जनप्रतिनिधिहरू कहीँकतै नदेखिउन् ।’