काठमाडौं । पाल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ भने १६ जना घाइते भएका छन् ।
आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा तिनाउ-६, की ६० वर्षकी यनकुमारी पन्त, सोही स्थानका ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षका कृष्णबहादुर अस्लामी, २८ वर्षकी उर्मिला अस्लामी रहेका छन् ।
यस्तै बुटवल उपमहानगरपालिका–१४ का ७० वर्षीय चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षकी चुना रणपालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
यस्तै तिनाउ-२, की २० वर्षीया गीता सुनार, रिव्दीकोट-१ की ६६ वर्षीया विष्णुकला कामी, सोही स्थानकी ६५ वर्षीया दिलकुमारी सुनार र रुपन्देही जिल्ला देवदह नगरपालिका-५, की २९ वर्षकी दिलमाया जिसीको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परी सात जना बालबालिका घाइते भएका छन् । मंगलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं.६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटना भएको थियो । प्रहरीका अनुसार जिप सडकदेखि तीन सय मिटर तल खसेको थियो ।
डुम्रेदेखि चिदिसतर्फ गएको जिप अत्यधिक लोडका कारण दुर्घटना भएको पाल्पाका प्रहरी उपरीक्षक हेरम्व शर्माले जानकारी दिए ।