काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशनका क्रममा आज बुधबार १३ समूहबाट सुझाव संकलन गरिएको छ ।
विभिन्न २० समूहमध्ये आज बुधबार १३ समूहबाट सुझाव प्रस्तुत भएको छ ।
सुझाव पेश गर्ने क्रममा कञ्चन खनालले महाधिवेशन प्रतिनिधिहरू पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र शहीद, बेपत्ता र घाइतेका सदस्यका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रूपमा राख्नुपर्ने सुझाव दिए ।
उनले पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समुदायलाई समेटेर लैजानुपर्नेमा जोड दिए ।
सरल सहयात्रीले प्रस्तावनालाई छरितो बनाउनुपर्ने, पार्टी र निर्वाचन चिह्न फेर्न सुझाव आएको उल्लेख गर्दै संगठनात्मक सिद्धान्तलाई छोटो बनाउनुपर्ने र पार्टी सदस्य दिँदा सरल बनाउनुपर्ने बताए । उनले निर्वाचन, लेखा र अनुशासनलाई थप अधिकार दिनुपर्ने र महाधिवेशनको मिति स्पष्ट रूपमा तोकिनुपर्ने सुझाव रहेको उल्लेख गरे ।
युवराज चौलागाईंले प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने सुझाव पेस गर्दै पार्टीको स्थायी समिति सदस्य विधानमा उल्लेख गर्न नपर्ने बताए । उनले पार्टीभित्र मात्र नभई सबै तहका सार्वजनिक पदको उम्मेदवार पार्टी सदस्यबाट तय गर्नुपर्ने सुझाव पेश गरे ।
मंगलबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । भोलि बिहीबार ७ समूहले सुझाव पेश गर्ने कार्यक्रम छ । बैठक भोलि बिहीबार बिहान ११ बजे पुनःबस्नेछ ।