बागलुङ । चिसो मौसम सकिन थालेसँगै बागलुङको बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
बर्खादेखि सुनसान बनेको बेलढुंगामा अहिले दैनिकजसो पर्यटक आउन थालेपछि चहलपहल बढेको हो ।
बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा अवस्थित बेलढुंगा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । सडक सञ्जाल र पदमार्गको सहज पहुँच पुगेपछि बेलढुंगामा पर्यटक आगमनमा वृद्धि भएको छ ।
समुद्री सतहदेखि २ हजार ६०० मिटरको उचाइमा रहेको बेलढुंगालाई पर्यटकीय गन्तव्य बनाउनका लागि गण्डकी प्रदेश र काठेखोला गाउँपालिकाले बर्सेनि लगानी गर्दै आएको छ । उच्च पहाडी क्षेत्रमा रहेको हुँदा यहाँबाट धौलागिरीसहित दर्जनौं हिमशृंखला आँखै अगाडि देख्न सकिन्छ । सूर्योदय हेर्नका लागि पनि पर्यटक बेलढुंगा पुग्ने गरेका हुन् । बेलढुंगा नजिकै खाना बस्न र स्थानीय कला संस्कृतिसँग रम्नका लागि सामुदायिक घरबास (होमस्टे) रहेको हुँदा विदेशी पर्यटक पनि समय–समयमा यहाँ आउने गरेको पाइन्छ ।
बागलुङ र म्याग्दी दुवैतर्फदेखि गाडी तथा पैदल यात्रामार्फत यहाँ पुग्न सकिन्छ ।
दशैं र तिहारको बीचमा दैनिक करीब ५०० को हाराहारीमा पर्यटक आएका थिए भने त्यसपछि माघ पहिलो हप्तासम्म बेलढुंगा सुनसान रहेको बेलढुंगा सामुदायिक घरबासका अध्यक्ष गोपाल श्रीसले बताए । माघयता झण्डै १ हजार २०० पर्यटक बेलढुंगा आएका उनको भनाइ छ ।
अधिकांश पर्यटक दिउँसो आएर साँझ फर्किने गरेको सुनाउँदै घरबासमा बास बस्ने गरी आउने निकै कम भएको उनँको भनाइ छ । आधा दशक अगाडिसम्म सुनसान जस्तै रहेको बेलढुंगा केही वर्षयता पर्यटकले भरिभराउ हुँदै गएको अध्यक्ष श्रीसले बताए ।
सरकारले पनि यस क्षेत्रको विकासका लागि चासो देखाएको उनी बताउँछन् । गत वर्ष काठेखोला गाउँपालिकाले विनियोजन गरिएको २ लाख ५९ हजार र गण्डकी प्रदेश सरकारको २० लाख बजेट विनियोजन गरेको भन्दै यस वर्ष पनि गाउँपालिकाबाट ५ लाख विनियोजन भएको श्रीसको भनाइ छ । पोहोर साल देउराली डाँडादेखि बेलढुंगासम्म जोड्ने २ लाख ६० मिटर पदमार्गका स्लेट ढुंगा विच्छ््याको र बागलुङ नगरपालिका–६ पञ्चकोटतर्फ २५० मिटर साइकल ल्याण्ड बनाएको भन्दै यस वर्ष ‘भ्यू प्वाइन्ट’ व्यवस्थापन गर्न थालिएको उनले बताए ।
‘पहिलेको तुलनामा अहिले बेलढुंगाको स्वरूप नै फेरिएको छ, धेरै व्यवस्थित पनि बनेको छ, प्रचारप्रसार पनि उत्तिकै भएर होला पर्यटक आगमनमा निकै उत्साह देखिएको छ, यस्तो ठाउँमा यसरी पर्यटकको ओइरो लाग्ला भन्ने हामीहरूले सोचेका थिएनौं तर विकासले गति लिँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या निकै बढेको छ, हामीहरूलाई निकै उत्साहित बनाएको छ,’ श्रीसले भने, ‘यहाँ अझै थप संरचना बनाउनुपर्नेछ, ती संरचना बने भने यस क्षेत्रको मुहार फेरिने अपेक्षा गरेका छौं ।’