काठमाडौं । ६४ वर्षपछि नेपालमै छापिएको हुलाक टिकट आजदेखि प्रचलनमा आएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनक शिक्षा सामग्री केन्द्रमा मुद्रण गरिएका ११ प्रकारका हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाए ।
हुलाक सेवा विभागले सहिद रामवृक्ष यादव, वाम आन्दोलनकी नेत्री साहना प्रधान, साहित्यक व्यक्तित्व तथा राजनीतिज्ञ नेत्रलाल पौडेल ‘अभागी’ र प्रजातान्त्रिक आन्दोलनका योद्धा कामी बुढा तथा नई प्रकाशनको रजत जयन्ती, श्रीबला त्रिपुरासुन्दरी देवी मन्दिर, औषधीय गुणले भरिपूर्ण मरेठी र विभिन्न ४ प्रकारका जडीबुटी अंकित हुलाक टिकट प्रकाशन गरेको छ ।
राष्ट्रिय व्यक्तित्व, महत्त्वपूर्ण जडीबुटी, धार्मिकस्थलका ८० लाख थान हुलाक टिकट प्रकाशन गरिएको विभागका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । यसअघि भारत, इण्डोनेसिया, लाद्भिया लगायत मुलुकमा हुलाक टिकट मुद्रण हुँदै आएको उल्लेख गर्दै उनले नेपालमै टिकट छापिन थालेसँगै समय र लागत बचत भएको बताए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तित्व तथा औषधीय गुणले भरिपूर्ण जडीबुटी, भाषा–साहित्यको क्षेत्रमा क्रियाशील संस्था र प्रसिद्ध धार्मिकस्थलका बारेमा टिकट प्रकाशन गरिएको बताइन् । मुलुकको राजनीतिक परिवर्तनका लागि हजारौंको बलिदान भएको उल्लेख गर्दै उनले पछिल्ला पुस्ताले पनि संघर्ष गरेको अघिल्ला पुस्ताका योगदानबारे प्रष्ट हुनुपर्ने बताइन् । ।
पूर्व मन्त्री दीनानाथ शर्माले मुलुकको राजनीतिक परिवर्तनमा योगदान दिएको व्यक्तित्व तथा नेपालमा मात्रै पाइने जडीबुटीबारे हुलाक टिकट प्रकाशन गरेर सरकारले प्रशंसनीय काम गरेको बताए ।
पूर्व मन्त्री रामकुमारी झाँक्रीले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि अघिल्ला पुस्ताले ठूलो बलिदान गरेको उल्लेख गर्दै पछिल्ला पुस्ताले पनि शिक्षा लिनुपर्ने बताइन् । ।