काठमाडौं । गत साता २०९६ अंकमा रहेको सेयर बजारको नेप्से परिसूचक यो साता २०६२ अंकमा कायम भयो । गत साताको तुलनामा नेप्से यो साता १.६२ प्रतिशत घटेको छ ।
पाँच दिन भएको कारोबारमा दुई दिन बजार बढ्यो भने तीन दिन घट्यो । पहिलो दिन आइतबार १०.५ अंक घटेको बजार सोमबार १५.३ बढ्यो । मंगलबार फेरि ३०.५६ अंक घटेको बजार बुधबार जम्मा ५.९ अंक बढ्यो । अन्तिम कारोबार दिन बिहीबार १४.४ अंक घट्यो ।
समग्रमा यो साता बजार घटे पनि कारोबार रकम उल्लेख्य छ । आइतबार ४ अर्ब ८ करोड, सोमबार ३ अर्ब ५८ करोड, मंगलबार ४ अर्ब ६६ करोड, बुधबार ४ अर्ब २५ करोड र बिहीबार ३ अर्ब ८६ करोडको कारोबार भयो ।
यो साता समग्र बजार घट्दा पनि तीन समूह फाइनान्स, हाइड्रोपावर र विकास बैंक समूह सकारात्मक रहे । बाँकी समूह भने घटेका छन् । फाइनान्स समूह सबैभन्दा धेरै २ प्रतिशत बढ्यो । यो समूह बुधबार ६.५ प्रतिशत बढ्दा साताभरि सकारात्मक देखियो ।
तर, हाइड्रोपावर समूह सकारात्मक लयमा देखिन्छ । गत साता यही समूह सबैभन्दा धेरै ३.२८ प्रतिशत बढेको थियो । यो साता केही ‘करेक्सन’ आउन सक्ने अनुमानबीच १ प्रतिशत बढ्यो । बजार बढ्दा पनि समूह बढ्नुले यस क्षेत्रप्रति लगानीकर्ताको मनोभाव सकारात्मक रहेको जनाउँछ ।
हाल समूहगत रूपमा सबैभन्दा धेरै रकम कारोबार हाइड्रोपावरमै भइरहेको छ । कुल कारोबारमा करिब आधा रकम यही समूहको हुने गरेको छ । कुल कारोबारमा हाइड्रोपावर समूहको मात्रै आइतबार ४० प्रतिशत, सोमबार ४६, मंगलबार ५७, बुधबार ४१ र बिहीबार ५५ प्रतिशत हिस्सा रह्यो ।
सेयर संख्या कम भएका कम्पनीको मूल्य बढ्यो
बजारमा सूचीकृत सेयर संख्या न्यून भएका कम्पनीको मूल्य बढेको पाइएको छ । सेयर संख्या कम भएका कम्पनीलाई निश्चित समूहले मूल्यमै प्रभाव पार्न सक्ने क्षमता राख्छ । तसर्थ, वित्तीय स्थिति कमजोर हुँदा पनि यस्ता कम्पनीको मूल्यलाई ठूलो असर पर्दैन । यस्ता कम्पनीको मूल्यवृद्धि दिगो नहुन सक्छ ।
बोटलर्स नेपाल बालाजु बाहेक मूल्य बढेका अरू सबै कम्पनीको हालको मूल्य प्रतिसेयर नेटवर्थको तीन गुणाभन्दा धेरै छ । तसर्थ, मूल्य बढेका अरू कम्पनीलाई वित्तीय स्थितिले साथ दिँदैन ।
समाज लघुवित्तको सूचीकृत साधारण सेयर संख्या ९८ हजार २ सय ५५ कित्ता छ । यद्यपि, यो कम्पनी हालै सूचीकृत भएको हो । त्यस्तै बोटलर्स नेपालको ४ लाख ८७ हजार कित्ता, जोशी हाइड्रो १६ लाख ९० हजार, सुपरमाइ हाइड्रो १० लाख, बलेफी ३६ लाख ५५ हजार, दोल्ती १६ लाख ९ हजार र सामलिङ पावरको १२ लाख ३० हजार कित्ता साधारण सेयर सूचीकृत छ ।
यस्तै यो साता धेरै मूल्य घटेका कम्पनीमध्ये एउटा वाणिज्य बैंक परेको छ– एनआईसी एसिया । वाणिज्य बैंकहरूको मूल्य उतारचढाव सामान्यत: न्यून हुने गर्छ । ‘अराजक’ व्यवसायी दुर्गा प्रसाईंले बैंकमाथि झुटो प्रचार गरेपछि यसको मूल्यलाई असर पारेको छ ।