काठमाडौं । एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ टोली क्यानडा–११ सँग ४ विकेटले पराजित भएको छ ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज आईतबार भएको खेलमा नेपाल ‘ए’ले प्रस्तुत गरेको २१७ रनको लक्ष्य क्यानडाले ४९ दशमलव ३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
क्यानडाका लागि नवनीत धलिवालले सर्वाधिक ८० रनको योगदान दिए । उनले ७६ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । यसैगरी निखिल दत्तले ११५ बलमा ५ चौका र १ छक्काको मद्दतमा अविजित ६७ रन बनाए ।
कप्तान साद बिन जफरले २३, श्रेयस मोम्भाले अविजित २२ तथा दिलप्रित बाज्वाले १० रन बनाए ।
बलिङतर्फ नेपाल ‘ए’का लागि साहब आलमले २ तथा रासिद खान, बसिर अहमद, प्रतिश जिसी र सागर ढकालले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २१६ रन बनायो । नेपाल ‘ए’का लागि बसिर अहमदले ५५ बलमा ३ चौका र १ छक्काको मद्दतमा अविजित ५० रनको योगदान दिए ।
यसैगरी रासिद खानले ४०, मयन यादवले ३५, किरण ठगुन्नाले २५, विवेक यादवले २१ र सन्दीप जोराले १४ रन बनाए ।
बलिङतर्फ क्यानडका लागि साद बिन जाफले ३, ईश्वरजीत सोधीले २ तथा डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले १/१ विकेट लिए । उक्त शृंखलाको दोस्रो खेल फागुन ८ गते हुनेछ ।