काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई बर्खास्त गरेको छ ।
आईतबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको कानूनी स्थायी आवासीय अनुमति एलपीआर लिएको देखिएकाले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाउने निर्णय गरेको हो ।
बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
भण्डारी सञ्चारमन्त्री शर्माका सूचना प्रविधि सल्लाहकार थिए । मन्त्रिपरिषद् बैठकले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गरेको छ ।
सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपयोग गर्ने ग्राहकको विद्युत् महसुल सम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ समितिको म्याद १ महिना थप गर्ने निर्णय गरेको छ ।
सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि २०७४ को अध्ययन गरी २ महिनाभित्र परिमार्जित मस्यौदा पेश गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
राष्ट्रिय प्रशारण १२औं संशोधन नियमावली २०८० स्वीकृत गर्ने र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको छ ।
बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिएको उनले बताइन् ।
एनसेलको शेयर खरिदबिक्री सम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय भएको उनले बताइन् ।