काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि सुरु हुँदैछ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुने नेपाली कांग्रेस महासमिति बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने भएका छन् ।
दिउँसो १ बजे सुरु हुने बैठकको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित फागुन १० गतेसम्म चल्ने महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति तथा कार्यक्रम, महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदन, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन् ।
यस्तै, अर्थमन्त्री तथा पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल गरी निष्कर्ष निकालिने छ । वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरु एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइने छ ।
बैठकमा यही फागुन ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन भएका प्रतिवेदन माथि पनि छलफल हुनेछ । महासमिति बैठकमा सहभागी हुने प्रत्येकलाई ३ हजार रुपैयाँ शुल्क तोकिएको छ । सहभागीले आवासको व्यवस्था आफैँले गर्नुपर्ने छ ।