काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ सालको परिवर्तन र २०६२/०६३ सालको आन्दोलनमार्फत सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी २००७ साल फागुन ७ को क्रान्ति नै भएको उल्लेख गरेका छन् ।
फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा समस्त नेपालीमा शुभकामना व्यक्त गर्दै उनले २००७ सालको कात्र्तिक २६ गतेदेखि प्रारम्भ ऐतिहासिक जन-क्रान्तिले आजकै दिन १०४ वर्षको एकतन्त्रीय निरङ्कुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको उल्लेख गरे ।
“राजनीतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको थियो ।
मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्यो”, सभापति देउवाले सन्देशमा उल्लेख गरेका छन् ।
उनले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न प्रजातन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरे ।