काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई विकसित र व्यवसायिक बनाउन सरकार प्रतिवद्ध रहेको बताएकी छिन् ।
राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले अख्तियार गरे अनुरुपको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताइन् ।
मन्त्री शर्माले पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिवद्ध र क्रियाशील रहेको जानकारी दिइन् । उनले विगतमा राजनीतिक अधिकार प्राप्तिका लागि पत्रकारिता र राजनीतिक क्षेत्रले सँगसँगै संघर्ष गरेको भन्दै अब राजनीतिक उपलब्धीको रक्षा, यसको सुदृढीकरण र जीवनस्तर–अवस्था बदल्नका लागि पनि पत्रकारिता र राजनीतिक क्षेत्र सँगसँगै हुनु जरुरी रहेकोमा जोड दिइन् ।
‘‘प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउनेगरी आम सञ्चारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिनुपर्छ । यसतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ । नेपालको संविधानले अख्तियार गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यवसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा सरकार प्रतिवद्ध र क्रियाशील छ ।,’’ मन्त्री शर्माले भनिन्, ‘‘अब राजनीतिक उपलब्धीको रक्षा, यसको सुदृढीकरण र जीवनस्तर÷अवस्था बदल्न महत्त्वपूर्ण भूमिका खेल्न जरुरी छ ।
यसका लागि फेरि एकपटक हामी सँगसँगै हुन जरुरी छ । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित रहेर गणतन्त्रको स्थायित्व, र जनताको जीवन रुपान्तरणमा सिङ्गो मुलुकलाई एकतावद्ध गरेर लैजाने प्रयास गरिरहेको छ ।’’