काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) पीडितहरूले न्याय पाउने गरी टुंग्याउनुपर्नेमा जोड दिएका छन् ।
पार्टी केन्द्रीय कमिटीको आज मंगलबारदेखि प्रारम्भ भएको सातौं पूर्ण बैठकमा अध्यक्ष ओलीले सत्ता गठबन्धनका शीर्ष नेताको अनिच्छाका कारण संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन नसकिएको आरोप लगाए ।
उनले पीडित पक्षले न्याय पाउनुपर्छ भन्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताए ।
विपक्षी दलका नेता उनले पृथक प्रसङ्गमा देश र जनताका मुद्दामा आवश्यक परेमा पार्टीले संसद् र सडकबाट संघर्ष गर्ने चेतावनी पनि दिए । यद्यपि त्यसबारेमा विस्तृत व्याख्या उनले गरे ।
अध्यक्ष ओलीले देश र जनताका पक्षमा इमानदार भएर काम गर्न सरकारलाई आग्रह गरे ।
आजको बैठकमा शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको संगठनात्मक कामको समीक्षा महासचिव शंकर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अवधारणा सहितका कार्ययोजना प्रस्तुत गरे ।
बैठकमा प्रस्तुत अवधारणालाई निचोडमा पुर्याउन स्थायी कमिटीका सदस्यहरू रहेको १, ७ प्रदेशका ७ र उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवासको १ गरी ९ वटा समूह विभाजन गरिएको छ । बुधबारदेखिको बैठकमा समूहगत छलफल हुनेछ ।
बैठकमा झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ र पार्टीको संगठनात्मक सुदृढीकरण र विस्तार अभियान ‘मिसन ग्रासरुट’ अभियानको प्रभावको समीक्षा हुने एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।