काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले नामिबियासँग हार ब्यहोरेको छ ।
आज कीर्तिपुर मैदानमा नेपालले नामिबियासँग २ विकेटको हार ब्यहोरेको हो । लिग टूको आफ्नो तेस्रो खेलमा नेपाल दोस्रो पटक नामिबियासँग पराजित भएको हो ।
नेपालले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य नामिबियाले ८ विकेट गुमाएर पुरा गर्यो । कप्तान गेरहार्ड इरास्मसको ५२ रनको अर्धशतकीय इनिङ्समा जोहन्सन स्मिथले ३४ रनको अविजित पाली खेले ।
माइकल बेन लिन्गनले ३१ रनको योगदान गरे । सामान्य लक्ष्य भएका कारण नेपालले नामिबियालाई दबाबमा राखेर खेल्नै सकेन । कुशल भुर्तेलले सर्वाधिक ३ विकेट लिदाँ कुशल मल्ल, ललित राजवंशी, रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले समान एक एक विकेट हात पारे ।
पहिले ब्याटिङ गरेको नेपाल ३७ दशमलव १ ओभरमा १ सय ६८ रनमा अलआउट भएको थियो । आसिफ शेखले ५८ रन बनाएको इनिङ्समा कुशल मल्लले ३६ र भिम सार्कीले २६ रनको योगदान गरेका थिए । नेपालका तीन ब्याट्सम्यान शुन्य रनमा पोविलियन फर्किए ।
अनिल साह, देव खनाल र कप्तान रोहित पौडेल शुन्य रनमा आउट भए । ओपनर कुशल भुर्तेलले १८ रन बनाए । करन केसी १२, दिपेन्द्र सिंह ऐरी ६ र सोमपाल कामी ४ रनमा आउट भए ।
बर्नार्ड शोल्ट्ज र जान निकोल लोफ्टी इटनले समान ३ विकेट लिएका थिए । ज्याक ब्रासेल र गरहार्ड इरास्मसले समान एक एक विकेट हात पारे ।