तनहुँ । गण्डकी प्रदेशको गौरव आयोजनाको सडक कालोपत्र सुरु भएको छ ।
तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा ट्रयाक खुलेको २९ वर्षपछि कालोपत्र सुरु भएको हो ।
मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्र थालिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।
अस्फाल्ट प्रविधिबाट तनहुँ खण्डमा कालोपत्र सुरु गरेको कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार सडक स्तरोन्नतिका लागि सोमबारदेखि फागुन २२ गतेसम्म सडक बन्द गरिएको छ ।
विक्रम संवत् २०५१ सालमा ट्रयाक खुलेको सडकमा कालोपत्र हुने भएपछि स्थानीय खुसी भएका छन् । सडकखण्ड स्तरोन्नतिका लागि विक्रम संवत् २०७७ मंसिर ५ गतेदेखि काम सुरु भएको थियो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् २२ करोड ८५ लाख ४१ हजार ७९३ रुपैयाँको लागतमा कालोपत्र सुरु गरिएको आचार्यले बताए । ३५ करोड १४ लाख ७४ हजार १०९ रुपैयाँ लागत अनुमान गरिएकामा हेटौंडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार ३१६ रुपैयाँमा कालोपत्रको ठेक्का पाएको थियो ।
सडक कालोपत्रको सम्झौता विक्रम संवत् २०७६ फागुन ७ गते भएको थियो । ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारी सुरु भएको र लकडाउनका कारण काम सुरु हुन नसकेको निर्माण कम्पनीले जनाएको छ ।
तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरु भएर डेढगाउँको सिमानासम्मको ११ किलोमिटर खण्डमा सडक कालोपत्र हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । सडकको चौडाइ ७ मिटर रहनेछ ।
सडकमा ५ मिटरको कालोपत्र हुनेछ भने १ मिटरको नाला निर्माण हुनेछ ।
कालोपत्र सम्पन्न भएपछि समृद्धिको ढोका खुल्ने घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए ।