कञ्चनपुर । जिल्लाका ९ स्थानीय तहका बालकालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ ।
जिल्लाका ९२ वडामा फागुन १३ देखि २१ गतेसम्म अभियान सञ्चालन गरी खोप लगाइने भएको हो ।
फागुन १३ देखि २१ गते (९ दिन) सम्म सञ्चालन हुने अभियानमा जिल्लाका ५५३ खोप केन्द्रमार्फत नियमित खोप लगाउन छुटेका १ लाख ३८ हजार ११२ बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय कञ्चनपुरका क्षय–कुष्ठरोग अधिकृत उद्धवबहादुर ठगुन्नाले जानकारी दिए ।
अभियानअन्तर्गत ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने छ । खोप केन्द्रमा स्वास्थ्यकर्मीसहित ३ जनालाई खटाइने तयारी गरिएको ठगुन्नाले बताए । उनका अनुसार एक खोप केन्द्रमार्फत २५० जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
नियमित खोप केन्द्रसँगै स्वास्थ्य संस्था र विद्यालयमा खोप केन्द्र निर्धारण गरिएका छन् । खोप अभियान कार्यक्रम सञ्चालनका लागि स्थानीय तहस्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण गोष्ठी सञ्चालन भइरहेका छन् ।
गोष्ठीलाई वडासम्म पुर्याएर अभियानबारे जानकारी दिने कार्य भइरहेको क्षय–कुष्ठरोग अधिकृत ठगुन्नाले बताए । ‘गोष्ठीमा दादुरा–रुबेला खोप अभियानमा नियमित खोप सेवा सुदृढीकरण गर्नेबारे जानकारी गराउने काम भइरहेको छ,’ उनले भने, ‘खोप लगाउन छुट हुने समुदाय, वर्ग, स्थानको पहिचान गरी ती सबैलाई खोप प्रदान गर्ने कार्यनीति अवलम्बन गर्न स्वास्थ्य संस्थालाई निर्देशन, सल्लाह र सुझाव दिने कार्य गरिएको छ ।’
दादुरा–रुबेला निवारणका लागि कम्तीमा ९५ प्रतिशत बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए । नगरपालिकाका १५ हजार बढी बालबालिकालाई खोप लगाइने उनले जानकारी दिए ।
‘दादुरा–रुबेला खोपका लागि गरिएको सर्भेक्षणमा कञ्चनपुरको शुक्लाफाँटामा २ र कृष्णपुर नगरपालिकामा ३८ जना बालबालिकामा दादुराको संक्रमण देखिएको थियो,’ उनले भने, ‘बसाइँसराइँका कारण भारत लगायत अन्य क्षेत्रबाट आएका बालबालिकामा संक्रमण भएको सर्भेक्षणमा पाइएको थियो ।’
इँटाभट्टामा कम गर्ने व्यक्ति, मुक्तकमैया, सुकुम्बासी, भारतमा मौसमी बसाइँ सर्ने लगायत परिवारका बालबालिका अभिभावकसँगै काम गर्ने क्षेत्रमा जाने भएकाले पूर्ण खोप सुनिश्चितता हुन चुनौती रहेको उनको भनाइ थियो ।
शहरका घनाबस्ती, सुकुम्बासी बस्ती, उद्योग, कलकारखाना, बालमन्दिर, अनाथालय, अन्तदेशीय सीमा, बस पार्कलगायत क्षेत्रका बालबालिकालाई पहुँच पुग्ने गरी खोप केन्द्र राख्ने कार्य गरिएको भट्टले जानकारी दिए । उनका अनुसार सन् २०२६ सम्म रुबेला–दादुरा रोग निवारण गर्ने राष्ट्रिय उद्देश्य राखिएको छ ।
मुलुकका ५१ जिल्लामा ९ महिनादेखि ५ वर्ष उमेर समूह र कैलाली–कञ्चनपुर सहितका २४ जिल्लाका ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई अभियानअन्तर्गत खोप लगाउने कार्यक्रम रहेको छ ।
दादुरा–रुबेला खोप अभियान २०७६/७७ अनुसार नियमित खोप लगाएका बालबालिका ८४ प्रतिशत थियो । तथ्यांकलाई बढाएर यस वर्षको अभियानमा ९५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ।
आव २०७९/८० मा १९ जिल्लामा १ हजार ३३९ बालबालिकामा दादुरा महमारी देखिएको थियो । कोभिड–१९ को महामारी र अन्य कारणले गर्दा दादुरा–रुबेला खोप लगाउन छुट बालबालिकाको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
हालसम्म ७२ जिल्लाका ७३३ स्थानीय तह पूर्ण खोप घोषणा भइसकेका छन् । नुवाकोट, पर्सा लगायतका ५ जिल्ला भने पूर्ण खोप घोषणा हुन बाँकी छन् ।
दादुरा–रुबेला खोप अभियान सफलतापूर्वक सञ्चालन गर्न/गराउन, स्थानीय तहको साधनस्रोत जुटाउन र परिचालन गर्न सरोकारवाला सबैसँग समन्वय गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुँवरले बताए । उनका अनुसार महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टको नेतृत्वमा ३ सदस्यीय एईएफआई समिति गठन गरिएको छ ।
खोप अभियान सञ्चालनका लागि टोलटोलमा विद्यालयमार्फत निमन्त्रणा कार्ड पठाउने कार्य गरिएको छ । नेपालको जनसांख्यिक स्वास्थ्य सर्भेक्षण २०२२ अनुसार ४ प्रतिशत बालबालिकाले एउटा पनि खोप लगाएका छैनन् । करीब १६ प्रतिशत बालबालिकाले आंशिक खोप लगाएका छन् भने ५२ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएका छन् ।