महेन्द्रनगर । नेपाली सेनाले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० कुतियाकवरमा ‘सेफ हाउस’ निर्माण थालेको छ ।
‘सेफ हाउस’को आज बिहीबार एक कार्यक्रमबीच दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बू र श्रीदल गुल्मका गुल्मपति सेनानी राजीवजङ्ग ठकुरीले संयुक्त रूपमा शिलान्यास गरे ।
नेपाल–भारत सीमावस्तीका रूपमा रहेको कुतियाकवर बर्सेनि बर्खामा जोगबुढा र महाकाली नदीको बाढीको उच्च जोखिमका रहने गरेकाले स्थानीय वासिन्दाको सहजताका लागि श्रीदल गुल्म भगतपुर ब्यारेकले ‘सेफ हाउस’ निर्माण थालेको गुल्मपति सेनानी ठकुरीले जानकारी दिए ।
वर्षातमा बाढी बस्तीमा पस्दा स्थानीय विस्थापित हुने गरेकाले त्यसको रोकथामका लागि सेनाले दोधाराचादँनी नगरपालिकाको समेत सहयोगमा सेफ हाउस निर्माण कार्य अघि बढाएको नगर प्रमुख लिम्बूले बताए । यसबाट सैनिक र नागरिकबीचको सम्बन्ध थप सुमधुर हुने उनको भनाइ छ ।
कुतियाकवरमा ४२ परिवारको बसोबास रहेको छ । यसअघि बाढीबाट कटान र डुबानबाट दर्जनौं परिवार विस्थापित भइसकेका छन् । सेनाले बाढीका बेला आश्रय लिन मिल्ने २ तले सेफ हाउस चालू आर्थिक वर्ष २०८०/८१ भित्र निर्माण गरिसक्ने लक्ष्य छ । सेनाले कञ्चनपुरमा शिक्षा, स्वास्थ्य र खेलकुदका साथै सार्वजनिक सम्पत्तिको समेत संरक्षण एवं संवद्र्धन गर्दै आएको छ ।
दोधाराचाँदनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले सेनाले निर्माण थालेको सेफ हाउस बनेपछि स्थानीयलाई बाढी र डुबानका बेला सुरक्षित भएर बस्न सकिने बताए । भवन निर्माणका लागि स्थानीयले जग्गा उपलब्ध गराएका हुन् ।
शिलान्यास कार्यक्रममा दोधाराचाँदनीका नगर प्रवक्ता ओम बस्नेत तथा स्थानीयको सहभागिता थियो ।