काठमाडौं । प्रतिकूल मौसमका कारण प्रभावित भएको मुलुकको हवाई उडान अहिले सामान्य रूपमा सञ्चालन भइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार वर्षा रोकिएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भइरहेको हो ।
आज बिहीबार अपराह्न काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै देशभर आंशिकदेखि सामान्य बदली रहेकाले हवाई उडान केही समय प्रभावित भएको थियो ।
प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ ४ र अन्तर्राष्ट्रियतर्फ १ जहाज ‘डाइभर्ट’ भएका प्रवक्ता झाले बताए । उनका अनुसार भारतको मुम्बईबाट काठमाडौं आएको इण्डिगो एयरलाइन्सको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि भारतको लखनऊ डाइभर्ट गरिएको थियो ।
आन्तरिकमा ‘इन्स्ट्रयुमेन्टल फ्लाइट रुल्स’ (आईएफआर) बाट मात्र उडान भएको थियो । अहिले दुवै उडान सामान्य रूपमा सञ्चालन भइरहेका प्रवक्ता झाले जानकारी दिए ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज बिहीबार काठमाडौंसहित देशका विभिन्न स्थानमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विशेषगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षा भएको छ । काठमाडौंमा साँझ करीब डेढ घण्टा हल्का वर्षा भएको थियो ।
महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौंमा ३ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । पोखरामा ७ दशमलव ५, घोराहीमा ५ दशमलव ८, दिपायल र डडेलधुरामा समान ३ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ ।