कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकूलपति प्रा.डा. केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः ३ वर्षे बनाइने घोषणा गरेका छन् ।
त्रिविले २०७१/०७२ सालदेखि व्यवस्थापन संकायतर्फ ४ वर्षे स्नातक कार्यक्रम सुरुआत गरेको थियो ।
विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज पदबहाली गरेपछि विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरूलाई सम्बोधन गर्दै उपकूलपति बरालले ४ वर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताए ।
‘बाहिरको शिक्षा प्रणाली अनुकूल बनाउने जनाउँदै ४ वर्षे गरियो तर छिमेकी भारत, युरोपेली मुलुक लगायत थुप्रै ठाउँमा अहिले पनि ३ वर्षे स्नातक कार्यक्रम नै चलिरहेको छ,’ उनले भने ।
अमेरिका लगायत केही देशमा ४ वर्षे स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै उपकूलपति बरालले भने, ‘त्यस्ता देश वा त्यस्तै ४ वर्षे विषय पढ्न जान चाहने विद्यार्थीका लागि ३ वर्षे कोर्स सकेपछि थप १ वर्षको छुट्टै मानार्थ उपाधिका कार्यक्रम चलाउन सकिन्छ ।’
उनले विषयको विशिष्टताका कारण केही विषयका स्नातक कार्यक्रम भने ४ वर्षे वा ५ वर्षे हुनसक्ने बताए । विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी संख्या अत्यन्त न्यून र केहीमा शून्य रहेकातर्फ औंल्याउँदै उनले अहिले मानविकी संकायमा अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको बताए । यसको समाधानका लागि मानविकीलाई सबै संकाय र कार्यक्रमबाट आउन मिल्ने (मल्टी डिसिप्लिनरी लिवरल आर्ट) का रूपमा पुनःसंरचना गरिने जानकारी पनि उनले दिए ।
शिक्षा संकायका कार्यक्रमलाई पनि सबै विषयबाट प्रवेश गर्न मिल्ने बनाइने उनले बताए ।
केही वर्षयता त्रिविको संरचना ठूलो र भद्दा भएको चर्चा गरिने उल्लेख गर्दै उपकूलपति बरालले यसको पुनःसंरचनाका लागि आफू तयार रहेको बताए । ‘त्रिविलाई अब विस्तार होइन पुनःसंरचनाको खाँचो छ,’ उनले भने ।
उपकूपति बरालले त्रिविका शैक्षिक कार्यक्रमहरूलाई उत्पादन र बजारसँग जोड्न आफू लागिपर्ने बताए । देशको मौलिक र रैथाने ज्ञानलाई विश्वविद्यालयको प्राज्ञिक अध्ययन–अनुसन्धानसँग जोड्नका लागि दीर्घकालीन योजना बनाइने जानकारी पनि उनले दिए । ‘तराईका राजवंशी र पहाडका मगरले उत्पादन गर्ने कासवा होस् वा चिउरीका उत्पादनको विकास, विश्वविद्यालयले त्यसतर्फको अध्ययन–अनुसन्धानमा जोड दिनेछ,’ उनले भने । हिमाली उपचार पद्धति आम्ची र आयुर्वेदिक अध्ययन–अनुसन्धानका कार्यक्रममा पनि विशेष जोड दिएर उठाइने उनले बताए ।
देशको विशिष्टताअनुरूप पर्वतारोहणको उच्च शिक्षाका लागि विशेष योजना ल्याइने र विदेशी विश्वविद्यालयसँग ज्ञान आदानप्रदानका कार्यक्रममार्फत अघि बढाइने पनि उपकूलपति बरालले बताए । होटल व्यवस्थापनमा अध्ययनसँगै कमाइको अवधारणालाई त्रिवि कार्यक्रमभित्रै समेटेर अघि बढाइने पनि उनले बताए ।
प्रा.डा. बराललाई निवर्तमान कार्यबाहक उपकूलपति शिवलाल भुसाल लगायत त्रिविका वरिष्ठ कर्मचारी तथा प्राध्यापकहरूले स्वागत गरेका थिए ।