काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज शुक्रबार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २०३ रन बनायो ।
जीतका लागि २०४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४३ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १७९ रनमा समेटियो ।
नामिबियाका लागि ज्यान निकोल लोफ्टी–इटनले सर्वाधिक ४९ रन बनाए । उनले ४३ बल खेल्दै ६ चौका र २ छक्का हाने । यसैगरी मलान क्रुगरले ३९, ज्यान फ्राई लिंकले ३४, रुबेन ट्रम्पप्लेमानले २३ तथा जान ग्रिनले २२ रन बनाए ।
कप्तान जेर्हार्ड इरासमले १२ रन बनाउँदा माइकल भ्यान लिङ्गेन १० रन जोडेका थिए ।
बलिङतर्फ नेदरल्यान्ड्सका लागि भिभियन किङ्गमाले ३, आर्यन दत्त र रुलफÞ भ्यान डर मर्वाले २/२ तथा शारिज अहमद र बास डे लिडले १/१ विकेट लिए ।
नेदरल्यान्ड्सका लागि ब्याटिङ गर्ने क्रममा नोआ क्रोसले सर्वाधिक अविजित ४६ रन बनाए । उनले ५६ बल खेल्ने क्रममा ३ चौका हाने । यसैगरी म्याक्स ओडाउडले ४१ रन, बास डे लिडले २४ तथा शारिज अहमदले १९ रन बनाए ।
बलिङतर्फ नामिबियाका ज्यान फ्राई लिंक र जेहार्ड इरासमसले ३/३, बर्नार्ड स्कोल्जले २ तथा रुबेन ट्रम्प्लम्यान र निकोल लफ्टी इटनले १/१ विकेट लिए ।
जीतसँगै नामिबियाले ४ खेलमा ६ अंक जोडेको छ । नामिबिया लिग–२ को शीर्षस्थानमा उक्लिएको छ । नेपाल र नेदरल्यान्ड्सको भने ३ खेलमा २/२ अंक छ । अब जारी शृंखलाको अन्तिम खेल नेपालले नेदरल्यान्ड्ससँग फागुन १३ गते खेल्नेछ ।