काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौं महानगरपालिका शिक्षा विभागबीच ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत विद्यार्थीले बनाएका चित्रकलाको आज काठमाडौँमा प्रदर्शनी गरिएको छ ।
महानगरभित्रका विद्यालयमा गर्ने कार्यक्रमका लागि भएको सम्झौताअनुसार स्केच र मूर्तिकला सीप प्रदान गरी आज शुक्रबार कन्या मन्दिर माध्यमिक विद्यालय क्षेत्रपाटीका विद्यार्थीले तयार पारेका कलाकृतिको प्रदर्शनी गरिएको हो ।
विद्यार्थीले नेपालको प्राकृतिक सौन्दर्यदेखि सम्पदा तथा पुरातात्विक क्षेत्रलाई चित्रमा उतारेका छन् । उनीहरूले समसामयिकदेखि दैनिक जनजीवन र रहनसनका सिर्जना पस्किएका छन् । उनीहरूले स्वयम्भू, बौद्ध, पशुपतिनाथजस्ता महत्त्वपूर्ण मन्दिर र बौद्ध, गुम्बालाई सिर्जनामा उनेका छन् ।
यसअघि सोही कार्यक्रमअन्तर्गत सीप सिकेका गीतामाता मावि विजेश्वरीका विद्यार्थीले बनाएका सृजनाको प्रदर्शनी गरिएको थियो । शिक्षामा सीप कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको संयुक्त प्रयासमा विद्यार्थीले कोर्सबूक बाहेक पनि यसरी नयाँ सीप सिकेका हुन् । कार्यक्रम काठमाडौंको मध्यबानेश्वरमा रहेको रत्नराज्य स्कूल विश्व निकेतन मावि, ज्ञानोदय मावि, तरुण मावि, गीतामाता मावि, कन्या मन्दिर मावि, शहिद शुक्र मावि, पद्मकन्या मावि, कोटेश्वर सरस्वती माविमा सञ्चालन भएको थियो ।
ती ९ वटा स्कूलमा १९ समूहमा विभाजन गरी ५७० विद्यार्थीले यसरी कला सिर्जनाको सीप सिकेका हुन् । उनीहरूलाई हरेक शुक्रबार कला सिर्जना सिकाइएको थियो । विद्यार्थीले स्केच, पोष्टर कलर, पेन्सिल कलर र माटो कला (मूर्तिकला) का सीप सिकेका थिए । प्रशिक्षक सोनी राईले यो सीप सिकेपछि भविष्यमा आर्टिष्ट बन्न चाहनेका लागि बाटो खुला भएको बताए ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला (बहुआयामिक कला) विभागकी प्रमुख सौरगंगा दर्शनधारी महानगरको शिक्षामा सीप कार्यक्रम अन्तर्गतको यो नयाँ सिकाइ भएको बताए । विद्यालय तहबाटै कला सिकाउनुपर्छ भन्ने प्रतिष्ठानको उद्देश्यअनुरूप कार्यक्रम आयोजना भएकामा महानगरलाई धन्यवाद दिए । गत असोजमै काठमाडौं महानगर र ललितकला प्रज्ञा–प्रतिष्ठानबीच सम्झौता भएर कार्यक्रम सुरु भएको छ ।