जनकपुरधाम । प्रदेश सभामा हुने संसदीय अभ्यास, व्यवस्थापन र अनुभव आदानप्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल नेतृत्वको टोली जनकपुरधामको भ्रमणमा आएको छ ।
आ–आफ्नो प्रदेशले गरिरहेका संसदीय असल अभ्यास र व्यवस्थापनका बारेमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले सभामुख धिताल नेतृत्वको १६ सदस्यीय टोली शुक्रबार जनकपुरधामको भ्रमणमा आएको हो ।
मधेश प्रदेशसभा सचिवालयका सचिव मनोजकुमार गिरीका अनुसार टोलीलाई मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, उपसभामुख बबिताकुमारी राउत ईशर लगायतले स्वागत गरेका थिए । टोलीमा गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापा समेत रहेकी छन् । उनीहरूबीच आ–आफ्नो प्रदेशले गरिरहेका अभ्यासबारे जानकारी आदनप्रदान भएको थियो ।
त्यसअवसरमा मधेश प्रदेशका सभामुख मण्डलले प्रदेश सभाको संसदीय अभ्यासलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सातै प्रदेशसभाबीच समन्वय तथा सहकार्य जरुरी रहेको धारणा राखे । उनले प्रदेशसभा तथा संघीय संसद्ले संविधानले परिकल्पना गरेअनुरूप सहकारिता, समन्वय र सहअस्थित्वको भावनासहित एकअर्कालाई सहयोग गर्नुपर्ने आवश्यकता समेत औंल्याए ।
‘लामो आन्दोलन र संघर्षको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हरेक क्षेत्र र व्यक्तिलाई आफ्नो अस्तित्व तथा पहिचानका लागि छुट्टाछुट्टै रूपमा सोच्नुपर्ने अवस्था बनाए पनि एकअर्काको मर्म बुझ्न नसकेमा समस्या उत्पन्न हुन्छ । त्यसैकारण जनताको सुख र समृद्धिको लक्ष्यप्राप्त गर्न सबै प्रदेश र सबै तहका सरकार मिलेर जानुको विकप छैन । यस्ता भ्रमणले सो भावनामा बल पुर्याउने काम गर्छन्,’ सभामुख मण्डलले भने ।
गण्डकी प्रदेशका सभामुख धितालले नेपालका लागि प्रदेशसभा र प्रदेशगत संसदीय अभ्यास नयाँ भएकाले आ–आफ्ना प्रदेशमा हुने असल अभ्यासबारे सिक्ने र सिकाउने उद्देश्यसहित आफूले अन्तरप्रदेशसभा संसदीय भ्रमणलाई अभियानका रूपमा लिएको बताए । प्रदेश सभालाई व्यवस्थित, परिणाममुखी र प्रभावकारी बनाउन अन्तरप्रदेश अनुभवले महत्त्वपूर्ण सिकाइको काम गर्ने उनको भनाइ थियो ।
सभामुख धितालले भने, ‘प्रदेश सभामा संसदीय अभ्यास हाम्रा लागि नयाँ विषय हो । त्यसैगरी दलगत कारणले प्रदेशसभामा केन्द्रको छाया पर्ने गरेको छ । त्यसलाई हटाउन पनि हाम्रा अभ्यासलाई अझै प्रभावकारी बनाउनुपर्नेछ ।’
उनले मधेश प्रदेशका सभामुख लगायतको टोलीलाई गण्डकी प्रदेशसभा भ्रमणका लागि निम्ता समेत दिए ।
मधेश प्रदेशका उपसभामुख इशर र गण्डकी प्रदेशका उपसभामुख थापाले एकअर्को प्रदेशका संसदीय सभ्यासबाट सिक्नका लागि अन्तरप्रदेश भ्रमणको आवश्यकता औंल्याए । सो अवसरमा गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेल, कम्प्युटर अधिकृत चन्द्रकला बस्नेत र मधेश प्रदेशसभा सचिवालयका तर्फबाट प्रवक्ता एवं उपसचिव (कानून) अरुणकुमार झाले आ–आफ्नो प्रदेशका गतिविधिबारे जानकारी गराएका थिए ।