मनाङ । मनाङ जिल्लामा आज शनिबार एउटा घर भत्किँदा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोरखाको धार्चे गाउँपालिका–६ का अन्दाजी ३७ वर्षीय बीरबहादुर घले रहेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुवासकुमार लामिछानेले जानकारी दिए ।
ङिस्याङ गाउँपालिका–४ मनाङ गाउँका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर घलेको मृत्यु भएको छ । घर मर्मत गर्ने ९ जना कामदारमध्ये ७ जनाको सकुशल उद्धार गरिएको छ भने १ जना सामान्य चोट लागेको सीडीओ लामिछानेको भनाइ छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भान्सा रहेको घर हिमपातपछि पानी चुहिने समस्या देखिएको थियो ।
उनले भने, ‘केही दिनअघिको भारी हिमपातपछि घरमा पानी चुहिने समस्या देखिएको रहेछ । सो मर्मतका क्रममा घर भत्किएको हो । घलेको माटोले च्यापिएर मृत्यु भएको जानकारी प्राप्त भएको छ ।’
माटोले पुरिएका कामदारको नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो ।
मृतक घलेको शव पोष्टमार्टमका लागि चामे पठाइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनले भने, ‘माटोले पुरिँदा १ जनाको टाउकोमा सामान्य चोट लागेकोमा प्राथमिक उपचार गरिएको छ भने अन्यको सकुशल उद्धार गरिएको छ ।’
उनका अनुसार घरमा हिउँ बढी जमेपछि पानी चुहिने समस्या देखिएको थियो ।