अत्तरिया । सुदूरपश्चिम प्रदेशमा ५ लाख २३ हजार ८३९ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ ।
दादुरा–रुबेला खोप अभियान २०८०/८१ अन्तर्गत प्रदेशका ९ वटै जिल्लामा खोप लगाउन लागिएको हो ।
फागुन १३ गतेदेखि प्रदेशभरि एकसाथ सुरु हुने खोप अभियानमा ९ महिनादेखि ५ वर्षमुनिका २ लाख ९ हजार ७५५ जना र ५ वर्षदेखि १५ वर्षमुनिका ३ लाख १४ हजार ८४ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य निर्देशनालय डोटीका खोप कार्यक्रम स्रोत व्यक्ति मीनराज जोशीले जानकारी दिए ।
कैलाली र कञ्चनपुरमा ९ महिनादेखि १५ वर्षमुनिका र अन्य ७ जिल्लामा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने योजना रहेको उनले बताए ।
खोप अभियानको तयारी पूरा भएको र औषधिलगायतका सामग्री सम्बन्धित खोप केन्द्रमा पुर्याइसकिएको जनाइएको छ ।
प्रदेशभरि खोप अभियानमा ६ हजार ७६४ स्वास्थ्यकर्मी परिचालन, ८ हजार ३४० जना स्वयंसेवक खटिने तथा ३ हजार ३८२ वटा खोप सेसन रहने स्वास्थ्य निर्देशनायका निर्देशक डा. जगदीश जोशीले बताए । खोप अभियानमा दादुरा–रुबेला खोपको बाहेक नियमित खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरी नियमित खोप पनि लगाइने उनले बताए ।
हाल प्रदेशमा ११५ दादुराका बिरामी रहेको निर्देशनालयले जनाएको छ । जसमध्ये बाजुरामा १८, कैलालीमा ५९ र कञ्चनपुरामा ३८ जना बिरामी रहेको जनाइएको छ । सरकारले सन् २०२६ सम्ममा दादुरा निवारण गर्ने लक्ष्य राखेको छ । खोप पूर्ण निःशुल्क र सुरक्षित हुने भएकाले सबैले आफ्ना बालबालिकालाई नजिकको स्वास्थ्य केन्द्रमा लगेर खोप लगाउन सरोकारवालालाई उनले आग्रह गरेका छन् ।