सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विभिन्न धर्म र संस्कृतिले नेपाल र नेपालीलाई अक्षुण्ण राख्दै एकताबद्ध बनाएको बताएका छन् ।
बाह्रबीसे नगरपालिकासहित विभिन्न संघसंस्थाको आयोजनामा आज शनिबार बाह्रबीसे–३ खोर्सानीबारीमा आयोजित २८६०औं डुक सोनाम ल्होछार कार्यक्रममा उनले भने, ‘हामी कहाँ विभिन्न जातिका आ–आफ्नै पर्व र संस्कृति छन् । हामी कहाँ फरक जातिको पर्व पनि उत्तिकै उत्साहका साथ मनाउने गरिएको छ । धर्म र संस्कृतिले हामीलाई एकआपसमा जोडेको छ ।’
मन्त्री बस्नेतले आफू यसै जिल्लाबाट निर्वाचित भएकाले जिल्लाको विकासका लागि आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाए । ‘सिन्धुपाल्चोकका सबै वडा मेरा लागि बराबर छन् । सबै वडाको विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक योजना समेट्न अधिकतम प्रयास गर्नेछु,’ उनले भने ।
उनले आफू मन्त्री भएपछि निजी, सरकारी र सामुदायिक अस्पतालमा १० प्रतिशत साधारण शय्या गरीब तथा विपन्नका लागि निःशुल्क उपलब्ध गराएको समेत उल्लेख गरे ।
त्यस अवसरमा बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले यस्ता कार्यक्रमले समाजमा सद्भाव र आत्मियता बढाउने धारणा राखे । उनले यस्ता कार्यक्रम हरेक वर्ष भव्य र सभ्य रूपमा मनाउँदै धर्म, संस्कृतिलाई बचाउन क्रियाशील रहनुपर्नेमा जोड दिए । उनले हाम्रो मौलिक सभ्यता र संस्कृतिलाई अनुशासित तरिकाले जोगाउँदै अघि बढाउन युवाहरूले भूमिका खेल्नुपर्ने बताए ।
नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठले बाह्रबीसे नगरपालिकामा तामाङ र शेर्पा समुदायको बाहुल्यता भएको उल्लेख गर्दै तामाङ र शेर्पा समुदायको पनि राज्यको माथिल्लो निकायमा प्रतिनिधित्व हुनु जरुरी रहेको बताए ।
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोरा यसप्रकारका कार्यक्रमले सद्भाव र सहिष्णुता बढाउने धारणा राखे । भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनोर्बु शेर्पाले भाषा, सम्प्रदाय, कला, संस्कृति जगेर्ना गर्न महत्त्वपूर्ण काम भएको र खुशी साटासाट गरेर नयाँ जोशका साथ अगाडि बढ्न प्रेरणा मिलेको बताए ।
सोनाम ल्होछारलाई तामाङ र शेर्पा समुदायले राष्ट्रिय पर्वका रुपमा मनाउँदै आएका छन् । नेपाली कांग्रेस बाह्रबिसे नगरसभापति शम्भुबहादुर तिमल्सिना, बाह्रबिसे नगरपालिकाको उपप्रमुख मञ्जु तामाङ, वडा नम्बर ३ का अध्यक्ष जीवनकुमार भण्डारी लगायतले त्यस अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।