काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शिक्षा नैतिकतायुक्त, व्यावसायिक, सीपमूलक र विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने खालको हुनुपर्ने बताएका छन् ।
द सनसाइन स्कूलको २७औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले विद्यमान शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताउँदै नैतिक र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने धारणा राखे ।
समाजको चरित्र निर्माण र समग्र मुलुकको विकासका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि शिक्षा क्षेत्रमा सुधार अपरिहार्य रहेको उनको भनाइ छ । शिक्षा क्षेत्रलाई प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रका रूपमा मात्र राख्ने नभई समग्र मुलुकको जिम्मेवारीका रूपमा बुझ्नुपर्नेमा उनको जोड थियो ।
संविधानमा प्रत्याभूत गरिएका मौलिक हक कार्यान्वयनका सन्दर्भमा सबै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्ने उनले बताए ।
‘नैतिक शिक्षा र सिर्जनात्मक कार्यले योग्य जनशक्ति निर्माणमा सहयोग गर्छ । शिक्षा क्षेत्रबाटै समाज रूपान्तरण सम्भव छ । गुणस्तरीय, सीपमूलक र नैतिक शिक्षाका लागि पाठ्यक्रम, विद्यालय र कक्षाकोठा मात्र नभई अभिभावक पनि जिम्मेवार हुनुपर्छ,’ उनले भने ।
पुर्खाको योगदानलाई पछिल्लो पुस्ताले बिर्सन नहुने उनको भनाइ थियो ।
सो अवसरमा विद्यालयले संस्कृतिविद् डा. जगमान गुरुङलाई सम्मान गरेको छ । विद्यालयले विज्ञान र कला प्रदर्शनी तथा रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ ।
विद्यालयका प्रधानाध्यापक बाबुराम गौतमले वार्षिक कार्यविवरण र आगामी योजना प्रस्तुत गरेका थिए ।