काठमाडौं । सरकारले आजदेखि बालबालिकालाई दादुरा-रुवेलाविरुद्धको खोप लगाउने भएको छ ।
जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा आजदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन हुन लागेको हो । जाजरकोट र पश्चिम रुकुममा गत कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो।
भारतसँग सीमा जोडिएका दादुरा-रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ।
पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । हरेक दिन बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ ।
अभियानअन्तर्गत काठमाडौँ जिल्लामा मात्रै पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइनेछ । जसअनुसार काठमाडौँमा १ हजार ६ सय ७० खोप केन्द्र तोकिएको छ । काठमाडौँका १० स्थानीय तहमा आजदेखि नै खोप अभियान सञ्चालन हुने भए पनि काठमाडौँ महानगरपालिका क्षेत्रमा भने फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने जनाइएको छ ।
काठमाडौँ दादुरा-रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अभियानमा करिब ५७ लाख बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ। सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक सरकारले खोप अभियान सञ्चालन गरेको हो ।