काठमाडौं । मुलुकका ५ जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन् ।
नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन् ।
स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले नुवाकोट र पर्सा पूर्ण खोप घोषणाको तयारीमा रहेको बताए । पूर्ण खोपका लागि २ वर्षमुनिका बालबालिकाले शतप्रतिशत खोप लगाएको हेरिने गरिन्छ । ती ५ जिल्लाका १६ स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न बाँकी छ ।
नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ४ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन् । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार १ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित हुन परेको थियो ।
कोरोना महामारीका कारण बालबालिका खोप लगाउन छुटेका प्रमुख डा. गौतमले बताए ।
‘पूर्ण खोप नलगाएसम्म बालबालिका सुरक्षित हुँदैनन्,’ उनले भने, ‘विभिन्न रोगबाट बचाउनका लागि बालबालिकालाई सरकारले दिने निःशुल्क खोप लगाउनुपर्दछ ।’
सरकारले ९ रोगका लागि १३ प्रकारका खोप बालबालिकालाई निःशुल्क उपलब्ध गराउने गर्दछ । सरकारले खोप लगाउन छुटेका बालबालिकालाई प्रत्येक वर्ष वैशाख महिनामा खोप महिनाका रूपमा मनाउँदै आएको छ । उक्त समयमा देशभरि नै खोज र खोप अभियान सञ्चालन गरी नियमित खोप छुट भएका बालबालिकालाई छुट खोप दिइँदै आएको प्रमुख डा. गौतमले बताए ।
गत वैशाखमा ५ वर्षमुनिका ४० हजार ४६३ बालबालिकालाई छुटेको खोप दिन सफल भएको उनको भनाइ छ ।
सरकारले पूर्ण खोपका सुनिश्चिताका लागि तथा दादुरा–रुबेलाको संक्रमणलाई ध्यानमा राखेर दादुरा–रुबेला खोपसँगै हेपाटाइटिस बी, धनुष्टंकार, इन्फ्लुयन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्ध खोप समेत सञ्चालन गरेको छ ।