धनुषा । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुदको विकास गर्न लगानी गर्न जरुरी रहेको बताएकी छन् ।
उनले नेपालमा खेलकुदको पूर्वाधारको अभाव तथा खेलाडी उत्पादन गर्न राज्यको लगानी कम भएको उल्लेख गरिन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उच्च माविको खेल मैदानमा आज सोमबारदेखि सुरु भएको ‘प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिता’को उद्घाटन गर्दै पूर्व राष्ट्रपति भण्डारीले खेलकुदमा राज्यको लगानी कम भए पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रियजगतमा गरेको प्रदर्शनको उच्च प्रशंसा गरिन् ।
महिला हक्की प्रतियोगिताले समाजमा रहेको लैंगिक विभेद अन्त्य गर्दै महिला सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले आशा व्यक्त गरिन् ।
पूर्व राष्ट्रपति भण्डारीले आपसी सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकतालाई बलियो बनाउँदै मुलुकलाई समृद्ध बनाउन खेलकुदको महत्त्वपूर्ण भूमिका रहेको बताइन् । उनले खेलकुदमा रहेको अनुशासन तथा संयमता राजनीतिक क्षेत्रमा प्रदर्शन हुन जरुरी रहेको उल्लेख गर्दै स्व. मदन भण्डारीले राखेको स्वच्छ राजनीतिक प्रतिस्पर्धाबाट नेतृत्वको विकास हुनुपर्छ भन्ने मान्यता अहिले पनि उपयोगी भएको र यो खेलमा पनि लागू हुने बताइन् ।
कार्यक्रममा नेकपा एमालेका सचिव एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद रघुवीर महासेठले नेपालमा खेलकुद क्षेत्रमा राज्यको लगानी कम भए पनि खेलाडीले खेल क्षेत्रमा गरेको प्रदर्शन सराहनीय भएको बताए ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा लगायतका वक्ताले हक्की खेलको विकासमा ध्यान दिन सरकारसँग आग्रह गरे । प्रतियोगितामा कर्णाली बाहेकका ६ प्रदेश, त्रिभुवन आर्मी क्लब र मदन भण्डारी स्पोर्टस् एकेडेमीको टोली सहभागी छन् ।
प्रतियोगिता फागुन १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजार, द्वितीय हुनेले १ लाख, तृतीय हुने टोलीले ५० हजार तथा उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।