काठमाडौं । नेपाल, नामिबिया र नेदरल्याण्डस सम्मिलित त्रिदेशीय टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिज अन्तर्गतको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ । नेपालले यसै वर्षको जुनमा हुने टी-२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग-२ को खेलका लागि सहभागी टिमसँग शृङ्खला आयोजना गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।
आजको खेलपछि नेपालले फागुन १६ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । यस्तै, नेपालले फागुन १८ गते पुनः नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । शृङ्खलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।