किमाथांका । संखुवासभाको सदरमुकाम खाँदबारीमा आज मंगलबारदेखि मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
कोशी प्रदेश खेलकुद विकास समितिको आयोजना तथा जिल्ला भलिबल संघको संयोजनमा प्रतियोगिता सञ्चालन भएको हो ।
प्रतियोगिताको आज कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरे । आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० सेटले पराजित गरेको छ ।
दोस्रो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ३–१ सेटले तथा नेपाल पुलिस क्लबले पनि कोशी प्रदेशलाई ३–१ सेटले नै पराजित गरेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री कार्कीले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । आवश्यक खेल पूर्वाधारका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष बजेटमा विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतियोगिता संयोजक एवं भलिबल संघका केन्द्रीय सदस्य प्रविण श्रेष्ठले झण्डै ५ हजार दर्शक बस्न मिल्ने अस्थायी प्यारापिट निर्माण गरिएको बताए ।
फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार, तृतीय हुनेले ५० हजार तथा चौथो हुने टोलीले ३० हजार पुरस्कार प्राप्त गर्नेछ । उद्घाटन समारोहमा कोशी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव हंशराज वाग्ले, पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राई, भलिबल संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा ३ विभागीय टोलीसहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका टोली सहभागी रहेका जिल्ला भलिबल संघका अध्यक्ष मेदिनी घिमिरेले जानकारी दिए ।