काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी रहेको बताएका छन् ।
रुसी सेनामा भर्ना भएका नेपालीका आफन्तसँग मंगलबार परराष्ट्र मन्त्रालयमा भएको छलफलमा उनले भने, ‘लिगल्ली गएको भए हुन्थ्यो । इल्लिगल्ली गएका छन् । जसरी गएका भए पनि उनीहरूका प्रति राज्यको दायित्व छ । आफ्ना नागरिकप्रति सरकार सधैं जिम्मेवार हुनुपर्छ, हुन्छ । उहाँहरूलाई फिर्ता ल्याउन कुनै पनि कमीकमजोरी हुने छैन । इमान्दारितापूर्वक प्रयास गरिरहेको छु, गरिरहने छु ।’
रुसी सेनामा भर्ना भएका परिवारका सदस्यलाई मन्त्रालयमा बोलाएर उनले छलफल गरेका छन् ।
रुसी सेनामा भर्ना भएका नागरिकको सकुशल फिर्ती, घाइतेको उपचार र उद्धार तथा लडाइँमा मृत्यु भएकाको शव नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय मस्कोस्थित नेपाली दूतावासले क्षमताले भ्याएसम्म हरसम्भव प्रयास गरिरहेको मन्त्री साउदले बताए । ‘नेपाली नागरिकको सुरक्षित फिर्तीका लागि काठमाडौंस्थित रुसी दूतावास मस्कोस्थित नेपाली दूतावास र अन्य माध्यमबाट नेपाल सरकार रुसी पक्षसँग निरन्तर सम्पर्कमा छ,’ उनले भने ।
परराष्ट्रमन्त्रीले कन्सुलर विभागमा हालसम्म मृत्यु भएका, सम्पर्कमा नभएका तथा रुसी सेनाबाट फिर्ता गरिदिन अनुरोध सहितका २४४ जनाका बारे परिवारले निवेदन दिएको जानकारी दिए । उनले रुसी सेनामा भर्ना भएका व्यक्तिबारे कन्सुलर विभागमा आवेदन दिन सम्बन्धित नागरिकका परिवारलाई आग्रह गरे । परिवारका सदस्यले आवेदन दिए सरकारलाई रुसी सेनामा भर्ना भएका नागरिकको स्थिति यकिन गर्न सहज हुने मन्त्री साउदले बताए ।
रुसी सेनामा भर्ना भएका नागरिकको संख्याबारे अतिरञ्जित गरेर समाजमा भ्रम फैलाउने ढंगले कसैले पनि प्रस्तुत हुन नहुनेमा उनको जोड थियो । परराष्ट्रमन्त्रीले रुसी सेनामा भर्ना भएकाका परिवारका सदस्यलाई पछिल्लो विकास क्रमका बारेमा पनि जानकारी दिए । उनले भारत रुसी राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेको बताए ।
मन्त्री साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकबारे सरकारले राखेका कतिपय सवालमा रुसी पक्षबाट सकारात्मक जवाफ प्राप्त भएको, मृतक र घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउने विषय अगाडि बढेको पनि बताए । उनले रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्किन दिने विषयमा रुसी सरकारसँग कुरा भएको जानकारी दिए ।