काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाल सरकारका बहालवाला सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले त्रिभुवन विमानस्थलबाट उनलाई पक्राउ गरेको सिआइबी उच्च स्रोतले जानकारी दिएको छ ।
माधवकुमार नेपाल नेतृत्वको सरकारले प्रधानमन्त्री निवास विस्तार गर्ने नाममा नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिने निर्णय गर्दा राउत भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत थिए ।
त्यसबेला मन्त्रालयले समरजंग कम्पनीका नाममा रहेको जग्गा नक्कली मोही र बिचौलियालाई दिने निर्णय अघि बढाएको थियो ।
आर्थिक प्रशासन शाखामा अधिकृत रहेका राउतले जग्गा सट्टाभर्ना र नक्कली मोहीलाई जग्गा कायम गर्नेसम्बन्धी टिप्पणी उठाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
त्यतिबेला विजयकुमार गच्छदार उपप्रधानसहित भौतिक योजनामन्त्री र सञ्जयकुमार साह राज्यमन्त्री तथा दीप बस्न्यात सचिव थिए ।
सञ्चार सचिव राउतले त्यस बेला टिप्पणी उठाएको सही भएको तर आफूले सरकारी जग्गा व्यक्तिका नाममा लैजाने भनेर निर्णय नगरेको प्रतिक्रिया दिएका थिए ।
प्रहरीले आजै पूर्व नापी अधिकृत ध्रुव अर्याल र समरजंग कम्पनीका प्रमुख लोकहरि घिमिरेलाई पक्राउ गरेको छ ।
घिमिरेमाथि सरकारी जग्गा संरक्षणमा पहल नगरेको आरोप लगाइएको छ । यस्तै, अर्याल भने त्यसबेला जग्गा नापजाँचमा खटिएको जनाइएको छ ।
यस प्रकरणमा सिआइवीले यसअघि नौ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
कीर्ते तथा संगठित रूपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायत पक्राउ परिसकेका छन् ।
विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ ।
ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।
तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको ब्युरोले पुनः अनुसन्धान थालेको हो ।