नवलपरासी । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योग व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
उद्योग वाणिज्य संघ नवलपरासीले सदरमुकाम परासीमा आयोजना गरेको औद्योगिक व्यापार मेला २०८० को उद्घाटन गर्दै मन्त्री डा. महतले राजस्व संकलन, बाह्य पर्यटकको संख्या बढेको र मूल्यवृद्धि घट्दो अवस्थामा भएकाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताए ।
‘मैले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा मुलुकको अर्थतन्त्र निकै कमजोर हालतमा थियो, अहिले अर्थतन्त्र जोखिममुक्त छ,’ मन्त्री डा. महतले भने । यसअघिको सरकारले बजेटको सुनिश्चितता विना आयोजनाको उद्घाटन गर्दै सुरु गरेकाले अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ थियो ।
पश्चिम नवलपरासीको महेशपुर भन्सार नाका मूल भन्सारमा परिणत भए पनि लक्ष्यअनुसार राजस्व संकलन नभएको उल्लेख गर्दै मन्त्री डा. महतले राजस्व वृद्धिका लागि क्वारेन्टाइन र सडक पूर्वाधार विकासका लागि आगामी आवको बजेटमा समावेश गरिने आश्वासन दिए ।
मेलामा बाल उद्यान लगायत विभिन्न क्षेत्रसँग सम्बन्धित १५० कक्ष रहेका छन् । मेला फागुन ३० गतेसम्म चल्नेछ ।
पश्चिम नवलपरासी आएका मन्त्री डा. महतले आजै पाल्हीनन्दन गाउँपालिका–१ महेशपुर भन्सारको समेत निरीक्षण गरे । सो अवसरमा उनले भन्सारलाई थप सुविधा सम्पन्न बनाउन पहल गर्ने बताए ।
महेशपुर नाकालाई प्रमुख नाकाको रूपमा विकास गर्न कदम चाल्ने मन्त्री डा. महतले उल्लेख गरे । मूल भन्सारको रूपमा प्रवाह गर्न जग्गाको अभाव रहेको उल्लेख गर्दै उनले यसबारे प्रस्ताव पेश गरी प्रक्रिया अघि बढाइने उनले बताए । मन्त्री डा. महतले जिल्लास्थित सुरक्षा निकायलाई गैरकानूनी आयात तथा निर्यातमा रोक लगाउन सुझाव दिए । यसबाट सरकारलाई राजस्व उठाउन सहज हुने उनले उल्लेख गरेका छन् ।