पोखरा । गण्डकी प्रदेश सभाको आज बुधबारको बैठकमा ३ विधेयक प्रस्तुत भएका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले ‘गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेश सभामा पेश गरेका हुन् ।
‘गण्डकी प्रदेशमा बीउबिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितिका सभापति फणीन्द्र देवकोटाले समितिको प्रतिवेदनसहित प्रदेश सभामा पेश गरेका छन् ।
‘गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश सभाको प्रदेश मामिला तथा कानून समितिका सभापति चम्पादेवी खड्काले समितिको प्रतिवेदनसहित प्रदेश सभामा प्रस्तुत गरेकी छन् ।
बीउबिजन र आमसञ्चार सम्बन्धी विधेयक गत भदौ ३० गते प्रदेश सभामा दर्ता भई दफाबार छलफलका लागि विषयगत समितिमा पठाइएको थियो । विज्ञसहित सरोकार भएका पक्षहरूसँगको सघन छलफल र परामर्शपछि संशोधनसहित समितिबाट पारित भएको विधेयक प्रदेश सभामा प्रस्तुत गरिएको सामाजिक विकास तथा कृषि समितिका सभापति देवकोटाले बताए ।
प्रदेश मामिला तथा कानून समितिका सभापति खड्काले समितिका सदस्य, सम्बन्धित मन्त्रालयका पदाधिकारी, आमसञ्चार क्षेत्रका विज्ञलगायत सरोकार भएका पक्षसँगको रायसुझावलाई विधेयकमा समेटिएको बताइन् । विधेयकमाथि दफावार छलफलका लागि पटक–पटक समितिको बैठक बसेको उनको भनाइ छ ।
दुवै विधेयक प्रदेशसभामा सामान्य छलफलपछि पारित हुने जनाइएको छ । गत माघ २९ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम ‘गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ आज बुधबार प्रदेश सभामा पेश भएको छ ।
बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिउँदे अधिवेशनमा गण्डकी प्रदेश सडक विधेयक, जीवनाशक विषादी व्यवस्थापन विधेयक, जनस्वास्थ्य विधेयक, भूमि विधेयक, घरेलु मदिरा सम्बन्धी विधेयक, खाद्य, विद्युत्, जलस्रोत लगायत विधेयक ल्याइने बताए । विभिन्न नियमावली संशोधनका लागि सरकारले स्वीकृत प्रदान गरेको उल्लेख गर्दै उनले आवश्यकता पहिचान भएका कानून निर्माण गर्ने कार्य प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए ।
मुख्यमन्त्री पाण्डेले कानूनी प्रबन्धसँगै प्रदेश सरकारले तय गरेका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा आफूहरू केन्द्रित रहेको उल्लेख गरेका छन् ।