काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धि र मूल्यवृद्धिको लक्ष्यलाई परिपूर्ति गर्ने गरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्ताे बताएका हुन् ।
राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिलाई परिपूर्ति गर्ने गरी आउने उनकाे भनाइ छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आगामी साउनको १५ गतेभित्रै जारी गर्ने तयारी रहेको गभर्नर अधिकारीले बताए ।
मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रको आवश्यकता, मौद्रिक विस्तार र निजी क्षेत्रमा जानुपर्ने कर्जाका विषयलाई ख्याल गरेर तय गर्ने बताउँदै उनले मौद्रिक नीतिको लागि राय सुझावहरू लिन सुरु गरिएको पनि बताए ।
गभर्नर अधिकारीले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटको प्रशंसासमेत गरे ।
सरकारले राम्रो बजेट ल्याएको भन्दै उनले त्यसलाई राष्ट्र बैंकले कार्यान्वयनमा सहयोग गर्ने गरी मौद्रिक नीति ल्याउने प्रतिवद्धता जनाए ।
'बजेटमा जुन आर्थिक वृद्धि र मूल्यवृद्धिको लक्ष्य छ । त्यसलाई परिपूर्ति गर्ने गरी राष्ट्र बैंकले आफ्नो मौद्रिक नीतिको तयारी गरिरहेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आगामी साउनको १५ गतेभित्रै जारी गर्छौँ', उनले भने, 'मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रको आवश्यकता के हो ? मौद्रिक विस्तार कति हुनुपर्ने हो ?, निजी क्षेत्रमा जानुपर्ने कर्जाका विषयलाई खाल गरेर मौद्रिक नीति तय हुनेछ । मौद्रिक नीतिको लागि आजदेखि नै रायसुझावहरू माग्न थालेका छौँ ।'
गभर्नर अधिकारीले यो वर्ष राजस्वमा परेको दबाब न्यूनीकरण गर्न धेरै काम भएको पनि बताए ।