काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमान चौधरीले शिष्टाचार भेट गरेका छन् ।
उपराष्ट्रपतिको कार्यालयमा आज बिहीबार अपराह्न भएको भेटमा २ मुलुकबीचको सम्बन्ध, व्यापार, पर्यटन, विद्युत् लगायत पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो ।
उपराष्ट्रपतिको निजी सचिवालयका अनुसार २ देशबीचको व्यापारको मात्रा बढ्दै गएकोमा खुशी व्यक्त गर्दै उपराष्ट्रपति यादवले व्यापार विस्तार एवं विविधीकरण गर्ने प्रचुर सम्भावना रहेको बताए । ‘तेस्रो देशसँगको व्यापारका लागि चटगाउँ र मोङ्ला बन्दरगाह हुँदै नेपाललाई पारवहन सुविधा उपलब्ध गराएकामा बंगलादेश सरकारलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘रोहनपुर–सिंहाबाद रेलमार्गको शीघ्र सञ्चालन गरी यी समुद्री बन्दरगाहबाट पारवहन सहयोग प्रवद्र्धन गर्न महत्त्वपूर्ण हुनेछ ।’
उपराष्ट्रपति यादवले नेपालको जलविद्युत् क्षमता र बंगलादेशको बढ्दो ऊर्जा आवश्यकताले २ देशबीच ऊर्जा सहयोग अभिवृद्धि गर्ने पर्याप्त अवसरहरू प्रदान गरेको बताए । ‘सन् २०१८ मा नेपाल र बंगलादेशबीच विद्युत् सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनु ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने महत्त्वपूर्ण कोसेढुंगा हो,’ उनले भने, ‘बंगलादेश सरकारले हालै भारतको पावर ग्रिड प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्न स्वीकृत गरेकामा हामी खुशी छौं ।’
उनले ऊर्जा क्षेत्रमा बंगलादेशको लगानीलाई नेपालले स्वागत गरेको जनाउँदै नेपालको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट बिजुली आयात गर्न बंगलादेश र भारतको जीएमआरबीच भइरहेको वार्ता र सुनकोशी–३ आयोजनामा संयुक्त लगानी सम्बन्धी बंगलादेशको प्रस्ताव उत्साहजनक रहेको बताए ।
‘म विश्वस्त छु कि यी परियोजनाहरूको कार्यान्वयन नेपाल र बंगलादेश दुवैका लागि पारस्परिक रूपमा लाभदायक हुनेछ,’ उनले भने, ‘नेपाल र बंगलादेशमा प्राकृतिक सौन्दर्य, समृद्ध सभ्यता र सांस्कृतिक सम्पदा, साहसिक खेलकुद र जैविक विविधता देखाउने लोकप्रिय धेरै पर्यटकीय गन्तव्य छन् । बंगलादेश नेपालका लागि पर्यटकको महत्त्वपूर्ण स्रोत देश पनि हो ।’
‘म हाम्रा २ देशबीच सांस्कृतिक सहयोग र जनताबीचका सम्पर्क प्रवर्द्धन गर्न जनवरी १९७८ मा भएको सांस्कृतिक सम्झौताको स्मरण गर्न चाहन्छु,’ नेपाल र बंगलादेशबीच घनिष्ट सांस्कृतिक सम्बन्ध र जनस्तरका सम्पर्कहरू रहेको बताउँदै उपराष्ट्रपति यादवले भने, ‘सन् १९७६ अप्रिलमा हाम्रा २ देशबीच हस्ताक्षर भएको प्राविधिक सहयोग सम्झौताअन्तर्गत नेपाली विद्यार्थीहरूलाई वार्षिक २२ छात्रवृत्ति (१९ एमबीबीएस र ३ बीडीएस) उपलब्ध गराएकोमा म बंगलादेश सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
उपराष्ट्रपति यादवले नेपाल र बंगलादेशले सार्क, बिमस्टेक, संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन, जी ७७ र चीनलगायत क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चहरूमा पारस्परिक हितका विषयमा सहकार्य गर्दै आएकोमा खुशी व्यक्त गरे । ‘हाम्रा २ देशले संयुक्त राष्ट्रसंघ र विभिन्न अन्तरराष्ट्रिय संस्थाहरूमा एकअर्काको उम्मेदवारीलाई समर्थन गरिरहेका छन् । आगामी दिनमा पनि यो सहकार्य जारी रहने विश्वास लिएको छु,’ उनले भने, ‘एक मित्रराष्ट्रका नाताले नेपालले बंगलादेशसँगको सम्बन्धलाई उच्च महत्त्व दिन्छ । आगामी दिनहरूमा हाम्रा २ देश र जनताबीचको सम्बन्ध अझ प्रगाढ हुनेमा म विश्वस्त छु ।’
राजदूत चौधरीले नेपाल र बंगलादेशबीचको सम्बन्ध व्यापार, पर्यटन, शिक्षा र ऊर्जालगायत क्षेत्रमा आधारित रहेको उल्लेख गर्दै हरेक वर्ष ३० हजार बंगलादेशी पर्यटक नेपाल आउने गरेका बताए । बंगलादेशले नेपाली विद्यार्थीका लागि चिकित्सा शास्त्र लगायत विषयमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उनले भने, ‘हरेक वर्ष छात्रवृत्तिसँंगै आफ्नै खर्चमा ५०० देखि ६०० विद्यार्थी बंगलादेशमा एमबीबीएस गर्न जान्छन् ।
हाल बंगलादेशमा ४ हजारदेखि ५ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । राजदूत चौधरीले हाल नेपाल र बंगलादेशबीच १० करोड अमेरिकी डलरको व्यापार हुने गरेको जनाउँदै ४० मेगावाट विद्युत्का लागि २ देशबीच केही दिनभित्रै सम्झौता हुने बताए ।