सिन्धुपाल्चोक । थाङपाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका–४ र मोन्टपेलियर, भर्मन्ट, संयुक्त राज्य अमेरिकामा अवस्थित यू–३२ विद्यालयबीच भगिनी सम्बन्ध स्थापित गरिएको छ ।
हेल्प संस्थाको पहलमा विद्यालयमा आज बिहीबार एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम गरिएको हो ।
सम्झौतामा यू–३२ का प्रिन्सिपल स्टिवन डेलिङ्गरपेट र थाङपाल भ्याली माविका प्रधानाध्यापक विजय तामाङले हस्ताक्षर गरे । पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले विद्यालयलाई देशकै नमूना बनाउने अभियानमा भगिनी सम्बन्धले थप बल पुग्ने विश्वास व्यक्त गरे । उनले अन्तराष्ट्रिय तहसम्म प्रतिस्पर्धा गर्न सक्ने विद्यालयको रूपमा यसलाई स्थापित गर्ने लक्ष्य अब बिस्तारै पूरा हुने विश्वास व्यक्त गरे । उनले यस पालिकाको शिक्षा सुधारका लागि गाउँपालिका लागिपरेको बताए ।
हेल्पका अध्यक्ष जिमी लामाले भगिनी सम्बन्ध कायम भएकामा बधाई ज्ञापन गर्दै भविष्यमा विद्यार्थी र शिक्षकबीच सिकाइ साटासाट हुने बताए । अन्य दिन पनि स्कूललाई हितको लागि लाग्ने उनले प्रतिबद्धता जनाए ।
२ विद्यालयका शिक्षक र विद्यार्थीबीच विभिन्न माध्यमबाट सिकाइ आदानप्रदान गर्न र एकअर्कालाई सिकाइ प्रक्रिया, शैक्षिक प्रक्रिया, शैक्षिक लक्ष्य तथा योजनाहरू पूरा गर्न एकअर्कालाई सहयोग पुर्याउने उद्देश्यसहित भगिनी सम्बन्ध गाँसिएको हेल्पका अध्यक्ष लामाले बताए ।
भगिनी सम्बन्धबाट शिक्षकहरूलाई हालको विश्वव्यापी सन्दर्भमा विद्यार्थीलाई संलग्न गराउने, अन्तरराष्ट्रिय सिकाइ सम्बन्धहरूको बुझ्न मद्दत गर्ने विश्वास लिइएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले विद्यालयलाई उत्कृष्ट बनाउने अभियानमा सहयोग गर्ने सबैलाई आभार प्रकट गरे । कार्यक्रममा भ्यालीका प्रधानाध्यापक विजय तामाङ, पूर्व व्यस्थापन समितिका शंकर लामा लगायतले यू–३२ विद्यालयप्रति आभार प्रकट गरे ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको ड्रिम प्रोजेक्टका रूपमा रहेको थाङपाल भ्याली मावि ४ वटा विद्यालय गाभेर निर्माण गरिएको विद्यालय छ । बागमती प्रदेशभित्रको थाङपाल भ्याली मावि दोस्रो ठूलो विद्यालय हो ।
पालिकाभित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टाल आधारभूत विद्यालय र ३ कन्या आधारभूत विद्यालय गाभेर वडा नम्बर ४ स्थित थाङपालकोटमा विद्यालय बनाइएको हो । विद्यालयमा हाल ८२१ भन्दा बढी विद्यार्थी र ४३ जना कर्मचारी सदस्य छन् ।
यू–३२, मोन्टपेलियर, भर्मन्ट, संयुक्त राज्य अमेरिकामा अवस्थित एक माध्यमिक तथा उच्च शिक्षा अध्यन गराउने एक शैक्षिक संस्था हो, जहाँ करीब ७२५ जना विद्यार्थी अध्यनरत छन् । यू–३२ समावेशी सिकाइ वातावरण, सामुदायिक सहयोग, विद्यार्थीको नेतृत्व, रचनात्मक तथा चुनौतीपूर्ण नयाँ पहल लिने इच्छुकता आदिले गर्दा अन्यभन्दा पृथक रहेको प्रिन्सिपल स्टिवन डेलिङ्गरपेटले जानकारी दिए ।