काठमाडौं । राष्ट्रिय सभाको आज बुधबारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ पारित गरेको छ ।
कानून, न्याय तथा संसदीयमा मामिलामन्त्री धनराज गुरुङले विधेयक सभामा पेश गरेका थिए । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको विधेयकमाथि त्यसअघि छलफल भएको थियो ।
छलफलमा सांसदहरू रमेशजंग रायमाझी र भैरवसुन्दर श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।
बैठकले राष्ट्रियसभा (दोस्रो संशोधन) नियमावली, २०८० पारित गरेको छ । समितिका सभापति सुरेशकुमार आलेमगरले प्रस्ताव पेश गरेका थिए । त्यसमाथि सांसदहरू प्रकाश पन्थ, भुवनबहादुर सुनार, रमेशजंग रायमाझी, कमला पन्त, डा. विमला राई पौडेल, जितेन्द्रनारायण देव, भैरवसुन्दर श्रेष्ठ, खिमलाल देवकोटा, विमला घिमिरे र गोपीबहादुर सार्की अछामीले आफ्नो धारणा राखेका थिए ।
लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभामा सदस्यको तर्फबाट ‘निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्था लगायत कार्यहरूको अनुमगन, निरीक्षण र मूल्यांकनको प्रतिवेदन २०८० सभासमक्ष पेश गरेका छन् ।
दीगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘नेपालमा दीगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्यांकन प्रतिवेदन २०८० सभासमक्ष पेश गरेका छन् ।
विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभूता सम्बन्धी ऐन २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन २०८० सभामा पेश गरे । राष्ट्रिय सभाको अर्को बैठक फागुन २१ गते १ः१७ बजे बस्नेछ ।