पर्वत । विभिन्न जिल्लामा शृंखलाबद्ध रूपमा चोरी गर्ने १ युवालाई पर्वतबाट प्रहरीले पक्राउ गरेको छ ।
रोल्पाको रोल्पा नगरपालिका–१ का ३३ वर्षीय भरत परियार पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीबाट बिहीबार राति २ बजे प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय शर्मिला पौडेलले सञ्चालन गर्दै आएको आशिक एन्ड आशिका किराना पसलबाट १० लाख १७ हजार नगद, १२ हजार बराबरको रिचार्ज कार्ड, चोरी गर्दैगर्दा स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमलाल भुसाल नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको छ ।
उनको साथबाट प्रहरीले ३५ तोला ७२ लाल सुन, ११ लाख १५ हजार ४८५ नगद, नेपाल टेलिकम र एनसेलका ४२ थान रिचार्ज कार्ड बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज शुक्रबार पत्रकार सम्मेलन गरी चोरीमा संलग्न व्यक्ति र बरामद गरिएको सामान सार्वजनिक गरेको छ ।
डीएसपी भुसालका अनुसार चोरी गर्ने व्यक्तिबाट २ थान मोबाइल, नेपालको नक्सा १ थान, नेपालको सडकको नक्सा १ थान, हसिया १ थान, उनको नागरिकता, वायरलेस सीसी टीभी क्यामेरा १ थान, हार्डडिक्स १ थान र एलइडी मनिटर १ थान बरामद गरेको छ ।
चोरी गर्न प्रयोग गरिएको ह्याम्बर, स्क्रुड्राइभर, जीआई पाइप, टर्च विभिन्न चाबीका झुप्पाहरू, चोरी गर्दा प्रयोग गरिने बालक्याप, पञ्जा, पावर ब्यांक, डिजिटल तौल मशिन बरामद गरिएको छ ।
अभियुक्त परियार यसअघि २०६९ सालमा प्रहरी वृत्त नयाँ बानेश्वरमा चोरी मुद्दामा ४ वर्ष कैद भुक्तान गरी २०७३ सालमा छुटेको पाइएको छ । सुरुमा केन्द्रीय कारागार काठमाण्डु र पछि झुम्का कारागार सुनसरीमा बसेको तथा त्यहाँ बस्दा आपराधिक व्यक्तिसँग सम्पर्क बढाई जेलबाट छुटिसकेपछि गिरोहको रूपमा चोरी गर्न थालेको बयान परियारले प्रहरीलाई दिएको छ ।
परियारलाई आज शुक्रबार नै जिल्ला अदालतमा चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी १० दिनको म्याद लिएर अनुसन्धान कार्य सुरु गरिएको डीएसपी भुसालले जानकारी दिए ।