झापा । बिर्तामोडस्थित डोमालाल रंगशालामा जारी छैटौं संस्करणको झापा गोल्डकपको आज सोमबारको खेलमा एपीएफ फूटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
एपीएफले बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।
एपीएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदीप कार्की र प्रदीप लामाले गोल गरेका थिए । बागमतीका अभि लामा, विमल घिसिङ र दिवस लिम्बूले गोल गरेभने निर्मल घिसिङ र अनिल राना मगरको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले विफल बनाएका थिए ।
एपीएफ ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा परेको छ । यद्यपि एपीएफले अर्काे क्लबमाथि गरेको उजुरी छानबिन नभएसम्म यसको निर्णय भएको छैन । एपीएफले पहिलो चरणको खेलमा टाइब्रेकरमा संकटा फूटबल क्लबलाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको थियो ।
खेलको १०औं मिनेटमा पेनाल्टी एरियाबाट बागमतीका अनिल राना मगरले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन । २६औं मिनेटमा सनम धिमालले पेनाल्टी एरियाबाट गरेको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए ।
पहिलो हाफको इन्जुरी समयमा अग्रता बनाउने अवसर बागमतीले गुमाएको थियो । बागमतीका निर्मल घिसिङको फ्री किक बारको नजिकैबाट बाहिरिएको थियो । खेलको ५४औं मिनेटमा एपीएफका दीपेश धिमालले गरेको प्रहार गोलपोस्टमा लागेको थियो ।
खेलको अधिकांश समय बल नियन्त्रणमा लिए पनि एपीएफको फिनिसिङमा कमजोरी देखिएको थियो । खेल अवधिभर एपीएफलाई बागमतीले दबाबमा राखेको थियो ।
खेलको ‘प्लेयर अफ द म्याच’ एपीएफ फूटबल क्लबका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भएर ११ हजार नगद पुरस्कार प्राप्त गरे । पहिलो चरणको खेलमा पनि श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ भएका थिए । मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल एनआरटी फूटबल क्लब काठमाडौं र चर्च ब्वाइज युनाइटेड काठमाडौंबीच हुनेछ ।
नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीले आज सोमबार आयोजना गरेको केपी ओली ‘रोड रेस’ प्रतियोगिताको उपाधि पुरुषतर्फ दिनेशकुमार यादव र महिलातर्फको उपाधि राममाया बुढाले जितेका छन् ।
दुवै जना विजेताले पुरस्कार स्वरूप जनही ५१ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । आज ५१औं सुखानी स्मृति दिवसका अवसर पारेर आयोजना गरिएको झापाको चारपाने चोकबाट इलाम र झापाको संगमस्थल सुखानी सहिद पार्कसम्म १० किलोमिटर दूरीको दौड प्रतियोगितामा यादव र बुढाले उपाधि जितेका हुन् ।
धावक यादवले ५१ मिनेट २३ सेकेन्डमा १० किलोमिटरको दूरी पार गर्दै विजेता बनेका थिए भने महिलातर्फकी विजेता बुढाले ५९ मिनेटमा दूरी पार गरेकी थिइन् ।
द्वितीय पुरुषतर्फ सन्दीप बस्नेत र महिलातर्फ पुष्पा भण्डारी भएका छन् । उनीहरूले नगद ३१ हजार नगद, मेडल, ट्रफी प्राप्त गरेका छन् । तृतीय बन्ने खेलाडीहरूमा पुरुषतर्फ पवन कार्की र महिलातर्फ फूलमति राना छन् । उनीहरूले जनही नगद २१ हजार प्राप्त गरेका छन् । दुवैतर्फका उत्कृष्ट १० सम्मलाई पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताको मूल आयोजक उपसमिति संयोजक प्रकाश बस्नेतले जानकारी दिए ।
प्रतियोगितामा देशभरबाट ४४८ जना सहभागी भएका थिए । प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले उनीहरूलाई पुरस्कार प्रदान गरेका थिए ।