मोरङ । कोशी प्रदेश ट्रफी टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज मंगलबार सम्पन्न खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।
मोरङको विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको पहिलो खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गर्यो ।
टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रन बनायो । १४१ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्र बनायो ।
कोशीका लागि अंकीत सुवेदीले ४८, सुजन थपलियाले ३८, समिर कार्कीले २० र दिपेश कँडेलले १४ रन बनाए । बलिङतर्फ कर्णालीका अनुज चनराले २ तथा प्रकाश जैशी, उनिश ठकुरी, दिवान पुन, दिनेश अधिकारी र दीपेन्द्र रावतले १/१ विकेट लिए ।
कर्णालीका लागि १०२ रन बनाउने क्रममा हिमांशु शाहीले ३४, दिनेश अधिकारीले ११ तथा दिवान पुनले १० रन बनाए । बलिङतर्फ कोशीका श्रवण यादव र दिपेश कँडेलले ३/३ तथा फिर्दोश अन्सारीले २ विकेट लिए ।
दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्यो । टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १७२ रन बनायो । १७३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।
सुदूरपश्चिमका लागि नरेन भट्टले अविजित ६२, किरण ठगुन्नाले अविजित ५३ र खड्ग बोहराले ४१ रन बनाए । बलिङतर्फ गण्डकीका अमृत गुरुङ र सन्दीप क्षेत्रीले १/१ विकेट लिए ।
गण्डकीका लागि १३२ रन बनाउने क्रममा दिपक डुम्रेले ४०, ईश्वर क्षेत्रीले १८, समिर कँडेलले १४, सन्दीप क्षेत्रीले १२, गोविन्द विकले ११ र दिनेश बुढामगरले १० रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले ३ तथा शेर मल्ल, नरेन साउद र नारायण जोशीले २/२ विकेट लिए ।
आगामी चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहभागी छन् ।