काठमाडौं । रुसी विपक्षी नेता एलेक्सी नभाल्नीकी विधवाले बुधबार रुसीहरूसमक्ष मतदान केन्द्रहरू बाहिर लामो लाइन बनाएर राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध निर्वाचनका दिन विरोध प्रदर्शन गर्न आह्वान गरेका छन् ।
युलिया नभाल्नायाले गत महिना आर्कटिक कारागार कोलोनीमा आफ्ना पतिको स्तब्धकारी मृत्युपछि उनको काम र क्रेमलिनको विरोधलाई जारी राख्ने प्रतिज्ञा गरेका छन् ।
बुधबार प्रकाशित एक यूट्युब भिडियोमा नभाल्नायाले यसै महिना राष्ट्रव्यापी मतदानमा मतदान केन्द्रहरूलाई अत्यधिक भीड बनाउने प्रयास गर्ने पहलको समर्थन गरे । मतदानबाट पुटिनलाई राष्ट्रपतिका रूपमा अर्को ६ वर्षको कार्यकाल सुरक्षित हुनेछ ।
‘हामी यहाँ छौं र हामी धेरै छौं भनेर देखाउन निर्वाचनको दिन प्रयोग गर्न आवश्यक छ,’ नभाल्नायाले भने, ‘हामीले मार्च १७ तारिख १२ः०० बजे १ दिन एउटै समयमा मतदान केन्द्रमा जानुपर्छ, अब के गर्ने ? तपाईं छनोट गर्न सक्नुहन्छ, तपाईं पुटिनलाई छाडेर कुनै पनि उम्मेदवारलाई मत दिन सक्नुहुन्छ, तपाईं आफ्नो मतपत्र बिगार्न सक्नुहुन्छ, तपाईंले ठूलो अक्षरमा ‘नभाल्नी’ लेख्न सक्नुहुन्छ ।’
उनले आगामी राष्ट्रपति निर्वाचनलाई ‘बनावटी’ बताएका छन् । पुटिनले ‘आफूले चाहेको परिणाम निकाल्ने’ तर मतदानका दिन विपक्षीहरूको दृश्य प्रदर्शनले क्रेमलिनलाई डराउन सक्ने उनको भनाइ थियो । नभाल्नी आफैंले पनि मर्नुअघि कारागारबाट आफ्नो अन्तिम पोस्टमा उक्त प्रस्तावको समर्थन गरेका थिए । यसलाई आयोजकहरूले ‘पुटिनविरुद्ध मध्याह्न’ भनेका छन् ।
पहलका समर्थकहरूले यो रुसीहरूका लागि क्रेमलिनविरुद्ध विरोध गर्ने कानूनी र सुरक्षित तरिका हुने आशा गरेका छन् । रुसमा सरकारविरोधी सडक जुलुस र प्रदर्शन प्रभावकारी रूपमा गैरकानूनी छ र आयोजक तथा सहभागीहरूलाई वर्षौंको कारागार सजाय हुनसक्छ ।