काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले दिएकाे विवादित अभिव्यक्तिबारे संसदमा प्रष्टीकरण दिएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफू भावनात्मक भएकाले त्यस्तो बाेलेकाे बताए ।
‘म अलिकति भावनात्मक छु नै । यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के ? थोरै भावनामा म आएँ । मैले त्यो कुरा नभने हुन्थ्यो । भन्नुपर्ने जरुरी थिएन । तर मैले भनेँ । मनमा आयो भनें', उनले भने ।
प्रधानमन्त्री प्रचण्डले आफूले दिएको अभिव्यक्तिले राष्ट्रपति घात गर्ने कुरा हाे र भन्दै प्रश्नसमेत गरे ।
'राष्ट्रप्रति नै घात गर्ने कुरा हो त यो ? यति सहज र स्वभाविक कुरा… प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो । मैले प्रधानमन्त्री भएर होइन, ज्ञानुको बुबा भएर बोलेँ । त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ', उनले भने ।
प्रधानमन्त्री प्रचण्डले कसैले भनेर प्रधानमन्त्री हुने वा बन्ने नभएकाे पनि बताएका छन्।
'उनी (प्रितम)ले भनेर कसैलाई प्रधानमन्त्री हुने वा बन्ने भन्ने होइन। कसैलाई प्रधानमन्त्री बनाउने सामर्थ पनि छैन । त्यस्तो खालको व्यक्ति पनि होइनन् । उनीसँग बिरामी छोरीलाई सहयोग गरेको कृतक्ष बाबुको सम्बन्ध मात्रै हो’, उनले भने ।
गत साेमबार पुस्तक विमोचन कार्यक्रमका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि उनकाे चाैतर्फी आलाेचना भएकाे थियाे भने नेकपा एमालेले उनकाे राजीनामा माग गर्दै गत बुधबारदेखि संसद अवरुद्ध पारेकाे थियाे ।
आजै अपरान्ह प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच अवरुद्ध संसद् खुलाउनेबारे छलफल भएकाे थियाे ।
प्रधानमन्त्री प्रचण्डले उक्त अभिव्यक्तिलाई लिएर स्पष्टीकरण दिने भएपछि एमालेले अवरुद्ध संसद खुलाउन सहमत भएकाे हाे ।
प्रधानमन्त्री प्रचण्ड आफ्नै बोलीका कारण समस्या भोग्दै आएका छन् । गत महिना भारत भ्रमणका क्रममा पनि प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति विवादमा तानिएको थियो ।