काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काजमा बसेका कर्मचारीलाई फिर्ता गर्ने निर्णय गरेको छ ।
सोमबार मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापन सम्बन्धमा ७ बुँदे निर्णय गर्दै काजमा बसेका कर्मचारीलाई फिर्ता गर्ने निर्णय गरेको हो ।
१७ असारमा भएको स्वास्थ्यमन्त्री स्तरीय निर्णयले साउन १ देखि लागू हुनेगरी काजमा रहेको कर्मचारीलाई आफ्नो दरबन्दीमा फर्किन निर्देशन दिइएकाे हो ।
मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापन सम्बन्धमा सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य मन्त्रालय मातहतका निकाय र सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।
‘कर्मचारी समायोजनपश्चात् स्थानीय तहहरूको दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएका कर्मचारीहरूमध्ये स्वीकृत दरबन्दी भन्दा बढी स्वास्थ्य कर्मचारीहरूलाई तत तत स्थानीय तहमा साउन १ गतेदेखि लागू हुनेगरी अनिवार्य काज फिर्ता गरी मन्त्रालयलाई जानकारी दिनू,’ मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ ।
मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरूमा समायोजन भइ समायोजन भएको तहमा रमाना लिइ नगएका चिकित्सक र स्वास्थ्यकर्मीलाई नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम १२० बमोजिम समायोजन भएको निकायमा ७ दिनभित्र रमाना दिइ जानकारी दिनसमेत निर्देशन दिएकाे छ ।
मन्त्रालयले कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम कर्मचारी समायोजन क्रममा फाजिलमा रहेका तथा समायोजन नभएका कर्मचारीलाई आवश्यकताको अनुसार कामकाजमा खटाउने जनाएकाे छ ।