मकवानपुर । हेटौंडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करीब २० हजार लिटर दूध संकलन गर्ने गरेको छ ।
संकलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर र हेटौंडा दूध विकास बोर्डलाई ६ हजार लिटर गरी कूल १६ हजार लिटर दूध पठाउने गरेको आयोजनाले जनाएको छ ।
आयोजनाले पर्साको वीरगञ्ज, चितवनको भरतपुर र नारायणगढ तथा मकवानपुरको हेटौंडामा दैनिक ४ हजार लिटर स्थानीय उपभोक्तालाई दूध वितरण गर्दै आएको छ ।
आयोजनाले मधेश प्रदेशको सर्लाही, रौतहट, बारा, पर्सा र बागमतीको मकवानपुरमा गरी २०० दूध उत्पादक सहकारी संस्थाबाट दूध खरिद गर्ने गरेको जनाएको छ । आयोजनाका प्रमुख राजीव खनालले तराईका जिल्लाका किसानले अहिले पशुपालन गरी त्यस भेगबाट दैनिक २ लाख लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको भएता पनि वीरगञ्ज, नारायणगढ र हेटौंडा बजारमा स्थानीय उपभोक्ताको मागवृद्घि हुन नसक्दा ती किसानले उत्पादन गरेको दूधलाई आयोजनाले थप खरिद गर्नुपर्ने चुनौती थपिएको बताए ।
उनका अनुसार आयोजनाले अब ती शहरमा थप दूधको माग बढाउन वीरगञ्ज, भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका र चितवनको रत्ननगर नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय उपभोक्ताबीच सहकार्य र प्रविधिक पक्षमा छलफल गर्न केही दिनभित्र प्राविधिक टोली त्यसतर्फ खटाउने छ ।
आयोजनाले मधेशका ४ जिल्ला र बागमतीको मकवानपुरका गरी करीब २८ हजार ४०० किसानलाई दूध खरिद गरेबापत मासिक ३ करोड १० लाख रकम भुक्तानी गर्ने गरेको प्रमुख खनालले बताए । आयोजनाले अहिले दैनिक दही ७०० लिटर, घ्यू ९०० किलो, पनिर ४०० किलो र मख्खन ५०० किलो उत्पादन गर्दै आएको छ ।
आयोजनाले मिठाईतर्फ पेडा र लालमोहन दैनिक १ हजार २०० कार्टुन उत्पादन गर्दै आएको छ । काठमाडौंका उपभोक्ताको मागबमोजिम मिठाई, पेंडा र लालमोहन दैनिक ८०० कार्टुन पठाउँदै आएको आयोजनाले जनाएको छ । गत साउन र भदौको तुलनामा स्थानीय बजारमा दूधको माग कम हुँदा अहिले दैनिक २ हजार लिटर दूध खरिदमा कटौती गरेको आयोजनाका सूचना अधिकारी कृष्णबहादुर श्रेष्ठले बताए । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको आयोजनामा प्रशासन, लेखा, प्राविधिक र मजदुर गरी १५० व्यक्ति कार्यरत छन् ।