विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेसनल टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र आर्मी विजयी भएका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली नेपाल पुलिसलाई ५२ रनले पराजित गरेको छ ।
जीतसँगै सुदूरपश्चिम ३ खेलमध्ये २ मा जीत र १ मा पराजित हुँदै ४ अंकको साथ दोस्रो स्थानमा उक्लिएको छ ।
टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले नारायण जोशीको विस्फोटन ब्याटिङमा निर्धारित २० ओभरमा ८ विकेट गुमाई १८३ रनको विशाल स्कोर खडा गरेको थियो । सुदूपश्चिमका लागि अविशेक पालले ३९ बलमा २ छक्का र ७ चौका प्रहार गरी ५८ रन बनाउँदा प्लेयर अफ द म्याच नारायण जोशीले १२ बलमा ६ छक्का प्रहार गरी ४० रन र किरण ठगुन्नाले ३० रनको योगदान दिए ।
पुलिसका शरद भेश्वाकरले ४ ओभरमा १ मेडन राख्दै ३ विकेट लिँदा मन्जित श्रेष्ठले २ विकेट लिए । जवाफमा १८४ रनको विशाल लक्ष्य पाएको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १३१ रन मात्र बनाउन सक्यो । पुलिसका शंकर राना ९१ रनमा अविजित रहे । रानाले ६२ बलमा ५ छक्का र ९ चौका प्रहार गरेका थिए । अविशेक कार्कीले २० रन बनाए । सुदूरपश्चिमका दीपक चन्द र शेर मल्लले पनि २ विकेट र नारायण जोशीले १ विकेट लिए ।
आज शुक्रबारै भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई ८ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १४० रनको योगफल तयार पारेको थियो । आर्मीका प्लेयर अफ द म्याच वसिर अहमदले ३८ बलमा २ छक्का र २ चौका प्रहार गरी ४२ रन बनाउँदा सन्दीप रजालीले अविजित ४१ रन र सन्तोष कार्कीले ३४ रनको योगदान दिए ।
कर्णालीका प्रकाश जैशीले २ विकेट लिँदा दिनेश अधिकारी र दीपेन्द्र रावतले १/१ विकेट लिए ।
१४१ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित ओभरमा ६ विकेट गुमाई १३२ रन मात्र जोड्न सक्यो । कर्णालीका लागि दीपेन्द्र रावतले नटआउट ४७ रन बनाउँदा रवीन्द्र शाहीले २२ रन र विपीन रावतले १८ रनको योगदान दिए । आर्मीका नितेश पटेलले २ विकेट लिँदा तीर्थराज दास, पवन कार्की, शहाव अलाम वसिर अहमदले १/१ विकेट लिए ।
शनिबारको पहिलो खेल कर्णाली र एपीएफ तथा दोस्रो खेल वागमती र लुम्बिनीबीच खेल हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।