काठमाडौं । नेपाल मेडिकल कलेज २८औं वर्षमा प्रवेश गरेको छ ।
कलेजले झण्डोत्तलनसँगै वार्डमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेर स्थापना दिवस मनाएको छ । कलेज २०५२ सालमा स्थापना भएको हो ।
स्थापनाको २८औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सञ्चालकहरूले कलेजको शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा नविनतम कार्यहरू गर्ने बताएका छन् । नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको विकास, विस्तारमा कलेजले महत्त्वपूर्ण योगदान दिएको चर्चा गर्दै उनीहरूले अब विशिष्टीकृत सेवा सञ्चालनतर्फ जोड दिने बताए ।
बिहान कलेज परिसरमा आयोजित कार्यक्रममा कलेजका अध्यक्ष डा. भोला रिजाल, प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारी, प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, डाइरेक्टर डा.साविहा यासमिन, अस्पताल निर्देशकद्वय डा. राजेशकिशोर श्रेष्ठ, प्रा.डा. मोदनाथ मरहट्ठा, बोर्ड अफ डाइरेक्टरहरू डा.आनन्दप्रसाद श्रेष्ठ, शाहनवाज अन्सारी लगायतले झण्डोत्तोलन कार्यक्रममा सहभागी भए ।
झण्डोत्तलोनसँगै कलेजले सो अवसरमा भर्ना भएका बिरामीहरूलाई फलफूल समेत वितरण गरिएको छ । कलेज प्रशासनले बिरामी भएर अस्पतालको विभिन्न वार्डहरूमा उपचाररत करीब डेढ सय बिरामीलाई फलफूल वितरण गरेको छ ।
२ वर्षअघि कलेजलाई नयाँ उचाइमा पुर्याउन वीरगञ्जका सफल मेडिकल व्यवसायी, प्रख्यात सर्जन प्रा.डा. जैनुद्धिन अन्सारीको टीमको प्रवेश भएको थियो । उनको टीमले कलेजको व्यवस्थापन सम्हालेसँगै स्वास्थ्य सेवालाई सुधार गरिएको छ । कलेजले चाँडै अंकोलोजी, कार्डियोलोजी सेवाहरू थप गर्ने, नयाँ एमआरआई भित्र्याउने तयारी गरेको कलेजकी डाइरेक्टर डा. साविहा यासमिनले बताइन् ।
२ वर्षको अवधिमा अस्पताल सेवातर्फ इमरजेन्सी सेवा, ओपीडी सेवा, ल्याबको सेवाहरूलाई गुणस्तरीय बनाइएको डाइरेक्टर डा. यासमिनको भनाइ छ । यससँगै कलेजमा ब्लड बैंक स्थापना समेत गरिएको छ । स्वास्थ्य सेवामा दक्ष जनशक्तिहरू थप गरिएको, नयाँ उपकरणहरू थप गरिएको, अत्याधुनिक डायलाइसिसस सेवा सुरु गरिएको छ ।
कलेजमा सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, गोकर्णेश्वर नगरपालिकाका सेवाहरू समेत सञ्चालन गरिएकोले पछिल्लो समय सेवाग्राहीहरूको विश्वास बढ्दो रहेको प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीको भनाई छ ।
‘हामी नेपाल मेडिकल कलेजलाई सुविधासम्पन्न स्वास्थ्य संस्थाका रूपमा उभ्याउन सक्रिय छौं । स्वास्थ्य सेवा र शैक्षिक गुणस्तरलाई एकसाथ सुधार्दै जनतालाई सर्वसुलभ रूपमा प्रभावकारी सेवा दिनु हाम्रो लक्ष्य हो । यस कार्यमा कलेजमा कार्यरत शिक्षक, फ्याकल्टी, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्दछौं,’ प्रा.डा. अन्सारीले भने ।