म्याग्दी । जिल्लाको बेनी नगरपालिका–१ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ ।
कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेको आनन्दबगरको बस्ती संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले योजना कार्यान्वयन गरेको हो ।
आनन्दबगर बस्ती संरक्षण योजना उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थापाले कालीगण्डकी किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘कालीगण्डकीले धार परिवर्तन गरेर बस्ती कटान गर्न थालेपछि आनन्दबगर जोखिममा परेको थियो,’ उनले भने, ‘चालू आर्थिक वर्षमा ७० मिटर लामो र ८ मिटर अग्लो पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ ।’
झण्डै ७४ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको पर्खालको जगतर्फ ३ मिटर अग्लो पक्की र सतहमा ४ मिटर अग्लो पर्खाल निर्माण गरिएको अध्यक्ष थापाले बताए । निर्माण कार्यलाई सहज बनाउन कालीगण्डकीलाई डाइभर्सन गरेर अस्थायी रूपमा पर्वतको लामाखेत तर्फबाट बगाइएको छ ।
१७ परिवारको बसोबास रहेको आनन्दबगरमा सयौं रोपनी खेतीयोग्य जमिन कटानको जोखिममा थियो ।
परियोजनाले बेनी बजार र त्यस आसपासका बस्तीमा कटान नियन्त्रणका लागि ८ ठाउँमा ५० करोडको लागतमा संरक्षणको काम गरिरहेको छ । बेनी बजार, गलेश्वर क्षेत्र, राम मन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न सञ्चालित आयोजना निर्माणले तीब्रता पाएको परियोजनाका इञ्जिनीयर कृष्णबहादुर विश्वकर्माले बताए ।
‘गलेश्वर, राम मन्दिर, वारीबेनी र बगरफाँटको योजना सम्पन्न हुुने चरणमा छन्,’ उनले भने, ‘बेनी नगरपालिका–२ भसबसेको नदी र पहिरो नियन्त्रण योजना लक्ष्यअघि नै सम्पन्न भएको छ ।’
बेनीलाई सरकारले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ ।