रुकुम जहाँबाट सुरु भयो, ‘जनयुद्ध’, यो त्यही आधार इलाकाको एक मान्छेको सफलताको कथा हो । ती मान्छेसँगै जोडिएर भनिने अर्को कथा हो– रुकुम, त्यहाँको दुर्गमता, शिक्षा र रोजगारीको । आउनूस् एकैछिन रुकुमका भरतकुमार शर्माको निजी जिन्दगीमा प्रवेश गरौं, जो ४० को दशकमै निजामती कर्मचारी बने ।
गुणस्तरीय शिक्षा रुकुमका लागि अझै असम्भव सपना हो । घरभन्दा टाढाको विद्यालयसम्म हिँडेरै पुग्नुको दुःख यहाँ मान्छेले मात्रै बयान गर्न सक्लान् । गुणस्तरीय उच्च शिक्षाकै लागि अझै पनि रोल्पा, रुकुमका मान्छे दाङ, नेपालगञ्ज र काठमाडौंसम्म पुग्न बाध्य छन् । तर, एक अपवाद हुन्- भरत शर्मा, जो रुकुममै पढे, सफलताको भर्याङ उक्लिए, जसले ‘पढ्नकै लागि’ जिल्ला छाडेनन् र प्रशासनको संसारमा स्थापित भए ।
निजामती कर्मचारी भएर उनले ३९ वर्ष सेवा गरिसकेका छन् । अहिले उनी कर्णाली प्रदेशका प्रमुख प्रशासनिक सल्लाहकारमा नियुक्त पनि भएका छन् । उनको जिन्दगीको झ्यालबाट चियाइहेरे त्यहाँ देखिन्छ- उनका संघर्ष, दुःख र अन्ततः सफलता ।
शर्माले पुराना दिन सम्झिँदै भने- 'इन्जिनियर बन्ने सपना थियो । तर, बुवाआमाले काठमाडौं गएर पढ्न दिनु भएन । २०३७ सालमा मुसिकोट क्याम्पस पनि खुल्यो । त्यतिबेला आर्ट्स मात्र पढाइ हुने भएकाले मैले त्यही विषय लिएर पढें ।'
१९ वर्षको उमेरमै लोकसेवाको परीक्षा पास गरी निजामती कर्मचारी बनेका शर्मा ६० वसन्त उक्लिसके, तर उनका आँखामा कर्णाली प्रदेशको विकासको लागि केही गर्ने सपना स्पष्ट देखिन्छ । यो दृढ सोचका साथ लागिरहेका शर्माले धेरै कठिन परिस्थितिलाई पार गरी आफ्नो जीवनलाई निजामती क्षेत्रमा लगाउन सफल भएका हुन् ।
२०२० सालमा सेरीगाउँमा जन्मिएका शर्मा सानैदेखि मेहनती थिए । पढाइमा पनि उत्तिकै तेज थिए । २०३६ सालमा आफ्नो लगनशीलता र मेहनतले खंलगा स्कुलबाट एसएलसी दिएर प्रथम श्रेणीमा उत्तीर्ण भएका शर्मा भन्छन्, ‘त्यो समयमा रुकुम जिल्लाबाट एसएलसी पास हुने चारजना मात्र थियौं ।’
इन्जिनियर बन्ने सपना
शर्माले आफ्नो स्कुलको पढाइ सकेपछि उच्च शिक्षा हासिल गरी इन्जिनियर बन्न चाहन्थे । आफ्नो सपना पूरा गर्न काठमाडौं आएर पढ्ने योजना बनाए । तर, बुवाआमाले घरको एक्लो सन्तान छोरालाई घरबाट टाढा नपठाउने निर्णय गरे । संयोग नै मान्नुपर्छ, रुकुममा त्योभन्दा पहिला १० देखि माथिल्लो तह पढाउने कुनै पनि क्याम्पस तथा कलेज थिएन । तर शर्माले एसएलसी पास गरेकै वर्ष १२ सम्म पढाउने क्याम्पस खुल्यो ।
शर्माले पुराना दिन सम्झिँदै भने- 'इन्जिनियर बन्ने सपना थियो । तर, बुवाआमाले काठमाडौं गएर पढ्न दिनु भएन । २०३७ सालमा मुसिकोट खलङगा क्याम्पस पनि खुल्यो । त्यतिबेला आर्ट्स मात्र पढाइ हुने भएकाले मैले त्यही विषय लिएर पढें ।'
‘आफ्नो-आफ्नो रोल नम्बर सुनेपछि खुसीले रमाउन थालें । खुसीले रमाउँदा अन्तर्वाताको मिति नै सुन्न बिर्सिएछु,’ उनी भन्छन्, ‘त्यति बेला घरमा सहायक अधिकृत पनि बस्नु हुन्थ्यो । उहाँले बधाई दिँदै १३ गते अन्तर्वाता हुने कुरा सुनाउनु भयो ।’
उनी ११-१२ पढ्दै गर्दा उनी शिक्षण पेशामा लागे । उनले आफू पढेको सेरीगाउँको स्कुलका विद्यार्थीहरूलाई विशेष गरी अंग्रेजी र गणित विषय पढाए ।
शर्माले बिहान क्याम्पस गएर आफू पढ्ने अनि दिउँसोको समयमा विद्यार्थीलाई पढाउने गरेको बताउँछन् ।
‘पढाउने समयमा सदरमुकामको क्षेत्र भएका कारण स्कुल बिदा भएपछि पत्रपत्रिकाहरू हेर्थें । सरकारी कर्मचारीहरूसँग पनि धेरै घुलमिल थियो । उनीहरूको काम गर्ने शैली हेर्दा स्कुलमा गएर पढाउन दिक्क लाग्न थाल्यो’, शर्माले भने, ‘विद्यार्थीलाई धेरै कराउन पर्ने । अभिभावक र हेडमास्टरले पनि जस नदिनेजस्तो परिस्थिति थियो । त्यसपछि शिक्षण पेशाभन्दा निजामती सेवा राम्रो लाग्न थाल्यो । अनि यतातिर आकर्षण भएको हुँ ।’
१९ वर्षमै निजामती कर्मचारी
भरतलाई निजामती कर्मचारी बन्न धेरै संघर्ष गर्नुपरेको थियो । तत्कालीन समयमा निजामती कर्मचारी बन्न निकै कठिन भएको अनुभव उनले सुनाए । उनी भन्छन्, 'मेरो घर सदरमुकाम नजिकै थियो । विभिन्न कार्यालयमा कर्मचारीले काम गरेको देख्दा आफूलाई पनि कर्मचारी भएर काम गर्ने रहर भयो । त्यसपछि लोक सेवा आयोगको तयारी गरेर परीक्षा दिएँ ।'
उनले पहिलोपटक २०३९ साल फागुनमा घरबाट टाढा दाङ पुगेर परीक्षा दिएको बताए । आफ्नो अनुभव सुनाउँदै उनले भने, ‘त्यो समयमा यातायातको सुविधा थिएन । खोलानाला, डाडाँकाडाँको बाटो ३ दिन हिँडेर परीक्षा दिन दाङको घोराही पुगेको हो ।’
परीक्षा दिएर आएपछि शर्मा नतिजाको पखाईमा थिए । उनलाई नतिजा कस्तो आउने हो भन्ने कुराले सताउँथ्यो । उनको त्यो पर्खाइ पनि सकियो । असार ९ गते राति सवा ९ बजे लोक सेवा आयोगको परीक्षाफल रेडियोमा प्रसारण हुने कुरा थाहा पाए । त्यसदिन उनी रेडियोको नजिकै बसेर रेडियो सुनिरहेका थिए र परीक्षाफल कस्तो आउने हो भनेर उनको मन ढुकढुक गर्दै थियो, त्यति नै बेला उनले आफ्नो नाम निस्केको थाहा पाए ।
त्यसपछि शर्माकाे खुसीको कुनै सिमाना नै नरहेको बताउँछन् । ‘आफ्नो-आफ्नो रोल नम्बर सुनेपछि खुसीले रमाउन थालें । खुसीले रमाउँदा अन्तर्वाताको मिति नै सुन्न बिर्सिएछु,’ उनी भन्छन्, ‘त्यति बेला घरमा सहायक जिल्ला शिक्षा अधिकृत पनि बस्नुहुन्थ्यो । उहाँले बधाई दिँदै १३ गते अन्तर्वाता हुने कुरा सुनाउनुभयो ।’
अन्तर्वार्ता भइसकेपछि आफ्नाे नाम एक नम्बरमा निस्किएकाे उनी सम्झिन्छन् । उनी ०४० साल असार १३ गते अन्तर्वातामा राम्रो गरी १९ वर्षको उमेरमा निजामती सेवामा प्रवेश गरेका थिए ।
शर्मा भन्छन्, ‘मैले मुसिकोटको पार्क निर्माणका लागि पहल गरें । शितलपोखरी पार्क निर्माण पनि मेरै पहलमा भएको हो । रुकुमको क्याम्पसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकसहितको पार्क, सेरीगाउँ स्कुलमा पारिजातको मूर्तिसहितको पार्क, रुकुमकोटमा भानुभक्तको मूर्ति, चुनबांग माविमा मोतीराम भट्टको र चौरजहारीमा बालकृष्ण समको शालिकसहितको पार्क बनाउन पनि पहल गरें ।’
निजामती कर्मचारीको यात्रा
शर्माले ०३९ साउनबाट निजामती कर्मचारीको यात्रा तय गरे । उनले खरिदार तहको सहलेखापालबाट सुरु गरेको यात्रा नेपाल सरकारको सह-सचिवसम्म पुर्याए ।
त्यतिबेला रुकुमजस्तो अत्यन्तै विकट जिल्लाबाट सरकारी जागिरे हुन पाउने भाग्यमानीमध्ये उनी हातको औँलामा गनिन्थे । केही समयपछि उनले शाखा अधिकृतमा नाम निकाले । त्यसपछि उनी उपसचिवमा बढुवा भए ।
शर्माकाे लोभलाग्दो जागिरे जीवनप्रति आकर्षित नहुने कोही थिएनन् । उनकै पदमार्ग पछ्याउँदै रुकुमबाट धेरैले सरकारी सेवामा प्रवेश गर्ने आँट र सामर्थ्य जुटाएका छन् । उनी स्थानीय विकास अधिकारीको जिम्मेवारी सम्हालेर धेरै वर्ष रुकुममा कार्यरत रहे ।
धेरै ठाउँमा सरुवा भइ कहिले रुकुम, नेपालगञ्ज र तुलसीपुरमा सेवा गर्दागर्दै उनको ०६७ साल वैशाखमा उपसचिवमा बढुवा भयो । उपसचिव भइसकेपछि पनि उनको सफलताको पाइला यत्तिकै रोकिएन ।
शर्माकाे ०४४ सालमा लेखापालमा बढुवा भयो । ०३९ सालदेखि ०४६ सालको अन्त्यसम्म ८ वर्ष कोष, लेखा नियन्त्रण कार्यालयमा नै रहेर काम गरे । ०४७ सालमा तरकारी बीउ उत्पादन केन्द्र चाँफामा पुगे ।
शर्माले ०५३ सालमा सुर्खेत गएर शाखा अधिकृतको परीक्षा दिएको बताए । उनले भने, ‘परीक्षामा पास भएँ र जिल्ला विकास समिति रुकुममा योजना अधिकृत भएर काम गरेँ । मेरो ६ वर्ष जिल्ला विकास समितिमा नै बित्यो ।’
धेरै ठाउँमा सरुवा भइ कहिले रुकुम, नेपालगञ्ज र तुलसीपुरमा सेवा गर्दागर्दै उनको ०६७ साल वैशाखमा उपसचिवमा बढुवा भयो । उपसचिव भइसकेपछि पनि उनको सफलताको पाइला यत्तिकै रोकिएन ।
फेरि शर्माकाे जिल्ला विकास समिति, रुकुममा सरुवा भयो । जब-जब रुकुममा सरुवा हुन्थ्यो, तब-तब उनले रुकुमको विकासको लागि पहल गर्थे । रुकुममा उनले विकास निर्माण र योजनाका थुप्रै काम गरेका छन् । साथसाथै सामाजिक विकास र सांस्कृतिक विकासका कामहरू पनि गरेको उनी बताउँछन् ।
शर्मा भन्छन्, ‘मैले मुसिकोटको पार्क निर्माणका लागि पहल गरें । शितलपोखरी पार्क निर्माण पनि मेरै पहलमा भएको हो । रुकुमको क्याम्पसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकसहितको पार्क, सेरीगाउँ स्कुलमा पारिजातको मूर्तिसहितको पार्क, रुकुमकोटमा भानुभक्तको मूर्ति, चुनबांग माविमा मोतीराम भट्टको र चौरजहारीमा बालकृष्ण समको शालिकसहितको पार्क बनाउन पनि पहल गरें ।’
‘मेरै पहलमा रुकुम पर्यटकीय गुरु योजना बन्याे । स्थानीय मेलाहरूलाई पर्यटन मेलामा रूपान्तरण गरियो । सडक नपुगेको ठाउँमा सडक बनाउने प्रयास गरियो । विभिन्न खोला तथा नदीहरूमा झालुंगे पुलहरू बनाइयो । सिँचाइ नपुगेको ठाउँमा कुलोहरू पुर्याइयो । विद्यालयहरूको भौतिक संरचनाको कामहरू भए । ठाउँ ठाउँमा सांस्कृतिक महोत्सवहरू गरियो । रुकुम साहित्य मालाको सुरुवात पनि मेरै पहलमा भएको हो’, शर्माले थपे ।
रुकुमलाई विकास गर्न सक्दो पहल गरिरहेका शर्माको सरुवा काठमाडौंमा भयो । काठमाडौं आएको एक वर्ष उनले स्थानीय विकास मन्त्रालयमा काम गरे । त्यसपछि उनको सरुवा गृह मन्त्रालयमा भयो ।
गृहमन्त्रालय पुगेपछि शर्माले मन्त्रालयबाट तनहुँ, भैरहवा र गुल्मी जिल्लाको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेको बताउँछन् । उनी भन्छन्, ‘तनहुँमा छँदा तनहुँ भेटघाट महोत्सवको आयोजना गरें । जसमा त्यहाँका पालिकाहरूले आ-आफ्ना संस्कृति झल्कने पर्यटकीय कार्यक्रमहरू गरेका थिए । भैरहवामा छँदा नाागरिकता प्रदान गर्ने प्रक्रियामा सरलीकरण गर्ने काम गरें । गुल्मीमा हुँदा कोभिड संकट सुरु भएकोले कोभिडलाई रोकथाम र नियन्त्रण गर्ने काम गरें । तम्घासमा जिल्लाको आफ्नै कोभिड प्रयोगशाला स्थापना गरिएयो थियो, जसले गर्दा धनजनको बढी क्षति हुन पाएन ।’
शर्माले गृह मन्त्रालयमा सरुवा भएर आएपछि नेपाल सरकारको सहसचिव तहमा बढुवा भएको सुनाए ।
शैक्षिक बेरोजगारका लागि लोक सेवा आयोग
लोक सेवा आयोग पढेर आफ्नो भविष्य बनाएका शर्मा हरेक विद्यार्थीलाई लोक सेवा आयोग पढ्न सुझाव दिन्छन् । उनका अनुसार लोकसेवा आयोगको परीक्षा दिएपछि शैक्षिक जनशक्तिलाई रोजगार पाउन सजिलो हुन्छ । परीक्षामा एक-दुई पटक फेले भएर केही पनि हुँदैन । हिम्मत नहारी मेहनत गरेर पढ्ने हो भने लोक सेवा आयोगको परीक्षा सहजै पास गर्न सकिन्छ । यसले रोजगारीको समस्या टार्छ ।
लोक सेवाको परीक्षा पास गर्न रातभरि पढ्नु नपर्ने शर्मा बताउँछन् । ‘पढ्नको लागि समय तालिका बनाएर योजनाअनुसार सेलेक्टेड पढ्नु पर्छ’, उनले भने, ‘देशमा भएका समसामयिक कुराको बारेमा अपडेट भइरहनु पर्छ । मेहेनत नै नगरी त लोक सेवा आयोग पास गर्न सकिँदैन । कोर्सको राम्रोसँग अध्ययन गर्नुपर्छ ।’
लोकसेवाको परीक्षा मेहेनत गरी पढेर एउटा सामान्य परिवारको छोराछोरीले पनि दिनसक्ने शर्मा बताउँछन् । यसमा पावर लाग्ने भन्ने अफवाह मात्र रहेकाे उनकाे बुझाइ छ ।
कर्णालीका लागि अझै केही गर्ने इच्छा
३९ वर्ष निजामती सेवामा बिताएका शर्माको आँखामा अझै पनि कर्णालीको विकासको भोक देखिन्छ ।
आफ्नो सरकारी सेवाको समय सकिए पनि कर्णाली प्रदेशका जनताका लागि केही गर्न सकिन्छ कि भने कर्णाली प्रदेश सरकारका प्रमुख प्रशासनिक सल्लाहकार बनेको उनी बताउँछन् ।
उनी भन्छन्, 'कर्णाली प्रदेशको विकासका लागि मैले सक्दो सहयोग गर्नेछु । पर्याप्त जनशक्ति नभएका कारण कर्णाली प्रदेशको विकास हुन नसकेको हो । हाल प्रदेशभरि ११ सय कर्मचारीको पद रिक्त छ । अफिसर लेभलभन्दा माथिका कर्मचारीहरू जान मान्दैनन् ।'
कर्णाली प्रदेश विकट भएका कारण पनि त्यहाँ कमचारीहरू जान नमान्ने शर्माको बुझाइ छ । उनका अनुसार सरकारले कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदा पनि जाँदैनन् ।
अहिलेको कर्णाली सरकारको मुख्य योजना गरिबी निवारण गर्नु रहेकाे शर्माकाे भनाइ छ ।
'गरिबी निवारण गर्न रोजगारीको सृजना गर्नपर्छ । त्यसैले प्रत्येक वर्ष १० हजार जनालाई रोजगार दिने नीति अगाडि बढाएका छौं । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई गुणस्तर बनाउन हामी लागि परेका छौं', उनले भने ।