काठमाडौं । पछिल्लो ५ वर्षमा साइबर अपराधका घटना ६ गुणा बढीले वृद्धि भएको पाइएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा २ हजार ३०१ निवेदन आएकोमा चालू आवको फागुन २३ गतेसम्म १२ हजार ७८९ निवेदन आएका हुन् ।
आव २०७७/७८ मा ३ हजार ९०६, आव २०७८/७९ मा ४ हजार ६८६ र आव २०७९/८० मा ९ हजार १३ निवेदन परेका प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ ।
प्रहरीका अनुसार चालू आवको फागुन २३ गतेसम्म अनलाइन माध्यमबाट पीडित बालकका १६४, बालिकाका २४२, महिलाका ५ हजार ७०३, पुरुषका ६ हजार १७७ र अन्यमा ५०३ गरी जम्मा १२ हजार ७८९ निवेदन प्रधान कार्यालयमा आएका छन् ।
साइबर ब्यूरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता दीपकराज अवस्थीले अनलाइन ठगी, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अन्य व्यक्तिको नाम तथा तस्वीर प्रयोग गर्ने, वेभसाइट ह्याकिङ लगायतका अपराधका विभिन्न स्वरूपमध्ये पछिल्लो समय ब्यूरोमा आर्थिक ठगीका निवेदन बढी आएको जानकारी दिए ।
साइबर अपराधका प्रवृत्तिमा विभिन्न किसिमका नग्न तस्वीरमा व्यक्तिको मुहार जोडी अनलाइन प्रविधि राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर प्रोफाइल पेज खोली बेइज्जत गर्ने तथा दुःख दिने, सरकारी तथा अन्य संघ संस्थाको वेबसाइट ह्याकिङ गर्ने, अनलाइन ठगी गर्नेजस्ता गतिविधि पर्दछन् ।